नेपालगन्ज सडकको हरिबिजोगः अति भयो !

नेपालगन्जको मुख्य सडक सुर्खेत रोड (जमुनाह-राँझा) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे भएको एक वर्ष पुगेको छैन । जीणर् बन्दै गएको सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भएपछि सर…सर…हुइकिने कुन नेपालगन्जियाको इच्छा थिएन होला । सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे पनि भयो । त्यहीबेला चुनावी माहोल थियो । जसले गर्दा पनि काममा कुनै अवरोध भएन । धमाधम भयो ।

अस्फाल्ट प्रविधिबाट बनेको सडकले नेपालगन्जियाको त्यो इच्छा पनि पूरा गरिदियो । तर, टिकने ! अस्फाल्ट भएको केही समयमै सडकमा हाइमास्ट लाइट जडान र सडक बत्तीमा विद्युत् लाइन विस्तार नाममा सडक खनियो । यसले नयाँ सडकको सौन्दर्यता खोसेन मात्रै, यात्राका लागि ठूलै असहजता निम्त्याइँदियो । ठाउँठाउँमा सडक खन्दा यहाँका सर्वसाधारणले खेप्नुसम्मको दुःख खेपे । अहिले सडकमा हिँड्दा वाक्कदिक्क भएका छन् । चोकचौतारा, सामाजिक सञ्जालमै विरोध जनाए । अहः कामले तिव्रता पाएन । सुस्त गतिबाट काम हुँदा नागरिकले कम्ता दुःख पाएनन् । सायद गणेशमान चोकमा ध्वजाध्वजा पारिएको सडकको तस्विर राखेर सामाजिक सञ्जालमा पहिलो आलोचना मिन मल्लले गरेका थिए । त्यसभन्दा पछि पनि सडक खनिएको तस्विर राख्दै मंसीर २८ गते उनले यसरी आलोचना गरेका थिए, ‘नेपालमा साधनको कमीले विकास नभएको होइन, साधनको दुरुपयोग असाध्यै भएर विकास नभएको ।’

चर्को आलोचनाका बीच ढिलै गरी पुनः सडक ठीकठाक भयो । अब त यसरी सडक खनिँदैन होला भन्ने नागरिकमा अपेक्षा थियो । तर, फेरि सडक खनिएको छ । यसपालिको बहाना भने खानेपानी पाइप बिछ्याउने हो । अहिले पनि सडक ठाउँठाउँमा खनिएको छ । नेपालगन्जियालाई फेरि उस्तै सास्तीले घेरेको छ । आलोचना गरौँ कति गर्ने ? नगरौँ हैरानी छ ।

यो अवस्था आउनुको मुख्य कारण, सडक निर्माण गर्दा समन्वय अभाव र दीर्घकालीन सोच नहुँदा हो । सहरी क्षेत्रमा खानेपानीको पाइप र विद्युत् लाइन गाडिएका छन् वा गाड्ने भन्ने सामान्य ज्ञान सरोकारवालामा देखिँदैन । भएको भए यस्तो हुने थिएन । भोलि लथालिङ्ग विद्युत् लाइन र केवल तथा इन्टरनेटका तार व्यवस्थि तगर्न भन्दै सडकमुनि राख्नुपर्ने अवस्था आउला । त्यतिबेला पनि त सडक फेरि खनिने होला ।

क्षेत्राधिकार अनुसार जोजसले सडक खने पनि यसरी नगरभित्र सडकको हरिबिजोग हुने गरी कार्य गर्दा उपमहानगरपालिकाले केही प्रतिक्रिया दिने वा समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दैन । यदी भएका भए कहाँ भएका छन् ? किन व्यवहारमा देखिएन त ?

Exit mobile version