गणेश विशु
नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्य हब हो । गुणस्तरीय स्वास्थ्य सेवाले नै नेपालगन्जलाई स्वास्थ्यको हबका रुपमा परिभाषित गरेको छ । तर, पछिल्लो समय स्वास्थ्यमा हुँदै गएको प्रविधि विकासलाई भने नेपालगन्जले पछ्याउन चुकेको छ । विकसित प्रविधिको अभावमा केही बिरामी अहिले भारतीय सहर लखनउसम्म पुग्न थालेका छन् । यसले यहाँका बिरामी नेपालगन्जबाट तीन घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । महँगो शुल्कमा लखनउ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपालगन्जमा पहल सुरु भएको छ ।
आज एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच एक सहकार्य भएको छ । जुन, पश्चिम नेपालकै स्वास्थ्यमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न अपोलो मेडिक्स अस्पतालसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कोनोडियाले बताएका छन् । केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने उनले विश्व व्यक्त गरेका छन् । यससँगै बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।
निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार हुनेछ । ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रिफर गरिने प्रवन्ध निर्देशक कोनोडियाले बताए । उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले यो सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूणर् उपलब्धि भएको बताए । उनले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गरे । नेपालका बिरामीको उपचार गर्न पाउँदा खुसी भएको अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक तथा सिइओ डा. मयंक सोमानीले बताए । यो सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
२०५३ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा सेवा प्रदान गर्दै आएको छ ।
नेपालगन्ज मेडिकल कलेज र अपोलो ओपिडीका फाइदा :
- बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्श/उपचारको सेवा आफ्नै सहरमा पाउने छन् ।
- हाम्रा बिरामीहरले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने छन् ।
- विभागवार कार्यशाला तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी आफ्नो र चिकित्सा शिक्षामा प्राज्ञिक स्तर उन्नति गरिनेछ ।
- नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र डाक्टहरुले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु, पर्यवेक्षक, फेलोशिप, अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने छन् ।
अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पाउने सुविधा
- पहिलो फलोअप निःशुल्क हुनेछ ।
- दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट पाउने छन् ।
- बिरामीले अपोलो अस्पताल, लखनऊमा हुने ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउने छन् ।
- बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल, लखनऊमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आइपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने छन् ।
- नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज (नर्सिङ होम) बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने छन् ।
फार्मेसीमा भने कुनै छुट सुविधा पाउने छैन ।