संघीयता कार्यान्वयन पछि तीन तहको सरकारको दोस्रो कार्यकाल चलिरहेको छ । संघीयता कार्यान्वयन पछि २०७८ सालमा कृषि गणना गरियो । त्यसको बिस्तृत परिणाम यसै बर्ष सार्वजनिक भएको छ । तर, तथ्यांकले कृषि तालिम पाएको कृषकको तथ्यांक भने सन्तोषजनक देखिंदैन ।
संघीयता कार्यान्वयनसँगै कृषि उत्पादनको व्यवसायिकरण र त्यसबाट आत्मनिर्भर हुन सकिने तीन तहकै सरकारले आफ्ना नीतिहरुमा उल्लेख गरेपनि कृषि गणनाको तथ्यांकमा तालिम पाउने किसानहरुको तथ्यांक अपेक्षित छैन ।
बाँकेमा औपचारिक कृषि तालिम लिएका कृषक परिवारको जनसंख्या १८ हजार ८ सय ५ मात्रै रहेको तथ्यांक कृषि गणना २०७८ को तथ्यांकमा उल्लेख छ ।
बाँकेमा कुल ६७ हजार ८ सय ८५ कृषक परिवार रहेका छन् । जसमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा १२ हजार ४७ रहेका छन् । त्यस्तै बैजनाथ गाउँपालिकामा ११ हजार ८ सय ४९ परिवार, कोहलपुरमा ८ हजार ५ सय ७५, खजुरा गाउँपालिकामा ९ हजार ९ सय ५२, जानकी गाउँपालिकामा ६ हजार २ सय ७४, नेपालगन्ज उपमहानगरपालिकामा ७ हजार २ सय २२, डुडुवा गाउँपालिकामा ५ हजार ७१ र नरैनापुरमा ६ हजार ९५ कृषक परिवार रहेका छन् ।
तर, राप्तीसोनारी गाउँपालिकाका औपचारिक कृषि तालिम लिएका कृषक परिवारका पुरुषको संख्या १ हजार ५७, महिला १ हजार २ सय ७९, कोहलपुरमा ७ सय ३६ पुरुष र १ हजार १ सय ९ महिला, बैजानाथका २ हजार ४ सय ३७ पुरुष र २ हजार १ सय ३१ महिला, खजुराका ८ सय ८३ पुरुष र १ हजार ४ सय ६१ महिला, जानकीका ९ सय ८९ पुरुष र महिला ६ सय ३१, नेपालगन्जका १ हजार ६७ पुरुष र ७ सय ७९ महिला, डुडुवाका १ हजार ८ सय ६५ पुरुष र १ हजार ७४ महिला, नरैनापुरका ८ सय ८१ पुरुष र ४ सय २८ महिलाले औपचारिक कृषि तालिम लिएका छन् ।
यस्तो छ, कृषक परिवारले कृषि क्रियाकलपामा दिने समय
कृषक परिवारका सबैले कृषि कार्यका लागि समय दिंदैनन् । कृषि क्रियाकलापका लागि ४० प्रतिशत भन्दा कम समय दिने कृषकको संख्या ६४ हजार ९ सय ४७, करिब आधार समय दिने ५७ हजार ५ सय २५, ६० देखि ९९ प्रतिशत समय दिने कृषकको संख्या ६५ हजार १ सय ९९ रहेको छ । कृषि कार्यका लागि पूर्ण समय दिने कृषिकको संख्या ५७ हजार ८ सय ९९ रहेको छ ।
३६ हजार हेक्टरमा कृषि
बाँकेमा ३६ हजार भन्दा बढी हेक्टरमा कृषि कार्य हुने गरेको छ । कृषि गणनाको तथ्यांक अनुसार बाँकेका आठ स्थानीय तहमा कुल ३६ हजार ८ सय २८.३ हेक्टरमा कृषि कार्य हुने गरेको छ ।
सबैभन्दा बढी कृषि कार्य राप्तीसोनारी गाउँपालिकामा हुने गरेको छ । राप्तीसोनारी गाउँपालिकामा ६ हजार २२ हेक्टरमा खेतीकिसानी हुने गरेको छ । त्यस्तै कोहलपुरमा २ हजार ८ सय ५९ हेक्टर, बैजनाथमा ४ हजार ७ सय ४१ हेक्टर, खजुरामा ५ हजार ३ सय ८३ हेक्टर, जानकीमा ४ हजार ३ सय हेक्टर, नेपालगन्जमा ४ हजार ४ सय ३५ हेक्टर, डुडुवामा ४ हजार ४ सय ३५ हेक्टर र नरैनापुरमा ४ हजार ४ सय ५३ हेक्टरमा कृषि कार्य हुने गरेको छ ।
आफ्नै जग्गामा खेती
बाँकेका अधिकांस किसान आफ्नै स्वामित्वको जग्गामा खेतीपाती गर्दै आएको तथ्यांकले देखाएको छ ।
बाँकेको आठ स्थानीय तहमा रहेका किसान मध्ये ५४ हजार २ सय ५ किसानले आफ्नै स्वामित्वमा रहेको जग्गा मात्र कमाउने गरेका छन् । एक भन्दा बढी प्रकारको स्वामित्व रहेको जग्गा कमाउने किसान परिवारको संख्या ११ हजार ६ सय १५ रहेको तथ्यांक कृषि गणनामा उल्लेख छ ।
अन्यको जग्गामात्र कमाउने किसानको संख्या १ हजार ५ सय ४९ रहेको छ । उनीहरुले ६ सय ५६ हेक्टर अन्यको जग्गा कमाउने गरेका छन् ।
४९ हजारले पाल्छन् पशु
बाँकेमा करिब ४९ हजार किसान परिवारले पशु चौपाया पाल्ने गरेका छन् । कृषि गणनाको तथ्यांक अनुसार, बाँकेका आठ स्थानीय तहका ४८ हजार ८ सय १८ किसानले पशु चौपाया पाल्ने गरेका छन् ।