कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हवाई उडान थप्न निजी विमान कम्पनी इच्छुक बनेका छन् । सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित हवाई सेवा दिइरहेका थिए । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले थप सेवा विस्तार गर्न लागेको छ ।
नेपाल एयरलाइन्सले विशेष गरी साबिक कर्णालीमा फागुनदेखि सेवा सञ्चालन गर्न लागेको जनाइएको छ । साबिक कर्णालीमा लुम्बिनीको बाँकेबाट जानुपर्ने अहिलेको बाध्यता छ । सुर्खेतदेखि साबिक कर्णालीका जुम्ला, हुम्लाको सिमकोट, मुगुको रारा, डोल्पा र बाजुराको कोल्टीमा नियमित हवाई उडान गरिने छ । नेपाल एयरलाइन्सको उडान परियोजना निर्देशक महेशकुमार मरिताका अनुसार फागुन पहिलो साता नेपाल एयरलाइन्सले साबिक कर्णालीका एयरपोर्टमा परीक्षण उडान गर्ने छ । त्यसको केही दिनलगत्तै नियमित उडान गर्ने तयारी एयरलाइन्सको छ ।
प्रदेश राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौँसहित साबिक कर्णालीमा हवाई उडानबारे अध्ययन गर्न विज्ञसहित निर्देशक मरिता सुर्खेत आउनुएभएको हो । सुर्खेतदेखि साबिक कर्णालीमा नेपाल एयरलाइन्सले विगतमा उडान गर्दै आएको थियो । यस पटक बजार माग, अप्रेसन खर्चलगायतको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार पारी सरकारलाई बुझाइने जनाइएको छ ।
सुर्खेत फ्लाइट अप्रेसन इन्चार्ज देवेन्द्र पुनका अनुसार पहिलो चरणमा प्रदेश राजधानी सुर्खेतदेखि साबिक कर्णालीका दुर्गम जिल्लाका हवाई उडानलाई प्राथमिकतामा राखिएको छ । फागुन पहिलो सातादेखि नेपाल एयरलाइन्सले साबिक कर्णालीमा व्यावसायिक उडान गर्ने जनाइएको छ ।