नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधबार हुदैछ । फाइनल खेलको तयारी सम्पुर्ण पुरा भएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
३३ विद्यालयका ६ भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको मेयर कप फुटबलको उपाधि जित्नको लागि छात्र र छात्रा तर्फ गरी चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमीले खेल्नेछन् ।
छात्रातर्फ मनकामना मावि खजुरा र नेपालगन्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा प्रतियोगिता भैरहेको छ । प्रतियोगिताको छात्र तर्फको सेमिफाइनलमा सेन्ट जेभियर्सले जय बागेश्वरी पराजित गरेर फाइनलमा पुगेको हो । नेपालगन्ज मोडेलले कृष्ण मावि कोहलपुरलाई हराउँदैं फाइनलमा पुगेको हो ।
धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित गरेको थियो ।
नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गरेको थियो ।
यसैगरी छात्रातर्फ मनकामना मावि खजुराले जनसेवा मावि गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।
११ दिन सम्म चलेको प्रतियोगितामा बाँकेका ८ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयको मावि स्तरका टिमले भाग लिएका थिए । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर कैलाली जिल्लासँग मैत्रीपुर्ण फुटबल खेल्ने तयारी भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो ।
प्रतियोगिताले बाँके जिल्लाको जुनियर स्तरको टिम तयारी पार्न महत्वपुर्ण सहयोग गरेको उहाँले बताउनु भयो ।
कोभिड पछि बाँकेमा भएको विद्यालय स्तरको प्रतियोगिताले नयाँ उत्साह थपेको शाहीले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी निकै खुसी छौं । कोभिड–१९ पछि विद्यालय स्तरको फुटबल प्रतियोगिता भएको छ । विद्यालयहरुको उत्साह जनक रुपमा सहभागिता रह्यो । यसले हामीले ग्रासरुटबाट उमेर समुहका प्रतिभावान खेलाडी छनोट गर्ने, उनीहरुलाई अवसर दिलाउन सहयोग गर्नेछ ।’