आजबाट प्रणय दिवस सुरु

आजबाट सप्ताहव्यापीरुपमा मनाइने प्रणय दिवस सुरु भएको छ । प्रणय दिवसअर्थात् भ्यालेन्टाइन डे, सात दिनसम्म माया गर्नेहरूले उत्सवको रुपमा मनाउने गर्छन् ।

भ्यालेन्टाइन डे को पहिलो दिन आज रोज डे मनाइँदै छ । आफ्नो प्रिय व्यक्तिलाई आजको दिन गुलाफको फूल दिने चलन रहेको छ । तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो ।

आज हामी तपाईंलाई संसारकै सबैभन्दा महँगो गुलाफको बारेमा जानकारी दिँदैछौं । हुन त संसारमा गुलाफका धेरै प्रजाति छन् जुन बजारमा उपलब्ध छन् । र, महँगोमै बिक्री पनि हुन्छन् । तर, डेविड अस्टिन जुलिएट नामक गुलाफ संसारकै सबैभन्दा महँगो गुलाफको रुपमा चिनिन्छ । डेविट अस्टिन जुलिएट गुलाफको फूल संसारमै आफ्नो सौन्दर्यता, सुगन्धका साथै मूल्यका लागि पनि प्रसिद्ध छ । डेविड जुलिएट गुलाफको एउटा फूलको मूल्य ४० अमेरिकी डलरबाट सुरु हुन्छ । भिन्न आकार, रङ्ग, संख्याको आधारमा यसको मूल्य निर्धारण गरिएको हुन्छ ।

डेविड अस्टिन जुलिएट गुलाफलाई पहिलो पटक सन् २००६ मा चेल्सीको पुष्प महोत्सवमा सार्वजनिक गरिएको थियो । उक्त गुलाफको फूललाई संसारकै सबैभन्दा प्रसिद्ध रोज ब्रिडर अर्थात् गुलाफ फूलको उत्पादककर्ता डेविड अस्टिनले पहिलोपटक संसार सामू ल्याएका थिए । डेविडले विभिन्न प्रजातिका गुलाफलाई मिसाएर उक्त डेविड अस्टिन जुलिएट गुलाफको उत्पादन गरेका थिए ।

किन महँगो छ यो गुलाफ ?

डेविडका अनुसार उक्त गुलाफको फूल फुलाउन १५ वर्षको समय लागेको थियो भने ५ मिलियन डलरअर्थात् ५४ करोड ४० लाख खर्च लागेको थियो । डेविड अस्टिनको वेबसाइट अनुसार जुलिएट गुलाफको सुगन्ध चियाको हल्का वास्ना जस्तै हुन्छ ।

Exit mobile version