सात महिनामा १३ हजार साइबर अपराध उजुरी

इन्टरनेटको पहुँच बढेसँगै साइबर अपराधको दर पनि वर्षेनि बढ्दो छ । चालु आर्थक वर्षको ७ महिनामै १३ हजारभन्दा धेरै साइबर अपराधका उजुरी परेका छन् । नेपाल प्रहरीका अनुसार गएको साउनदेखि माघ २३ गते अर्थात् मंगलबारसम्म साइबर अपराध सम्बन्धी १३ हजार ३ सय ३० वटा जाहेरी परेका छन् ।

त्यसमध्ये सामाजिक सञ्जाल सम्बन्धी ११ हजार ४ सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधका १ हजार ९ सय ५ वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना साइबर ब्यूरोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइबर अपराधमा विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट हृयाक र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति देखिएको छ ।

प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले प्रविधिसँगै प्रयोगकर्ता बढेको र त्योसँगै अपराधिक गतिविधि पनि बढ्दो रहेको बताए । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उनले भने । उनले यस्ता अपराध हुन नदिन प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिने अभियान चलाएको बताए ।

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा, भाइबरका १६ वटा, युट्यूवका ३९ वटा, ट्वीटरका ६ वटा, इन्स्ट्राग्रामका ४ सय ३२ वटा, वेभसाइट हृयाकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इसेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा रहेका छन् । त्यस्तै वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा, एकाउन्ट हृयाकका १ सय ५२ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा छन् । देशभर प्राप्त निवेदन तथा उजुरी उपर प्रविधिको प्रयोग गर्दै सुक्ष्म तरिकाले अनुसन्धान गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही हुने प्रवक्ता ढकालको भनाई छ ।

Exit mobile version