सुरु भयो साइकल उत्सव

नेपालगन्ज साइकल उत्सव आजदेखि सुरु भएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको यो उत्सव अन्तर्गत आज १० बर्षसम्मका बालबालिकाहरु बीच साइकल दौड प्रतियोगिता गरिंदैछ ।

सात बर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘टूर डे ठाकुरद्वारा’को छैठौं संस्करण आयोजना तयारी पूरा भएको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले ‘साइकल उत्सव’बारे जानकारी दिएको हो ।

‘यो आयोजनाले नेपालगन्ज हुँदै बाँके, बर्दिया लगायतका विभिन्न जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक निम्त्याउन महत्वपूर्ण भूमिका खेलेको छ’, क्लब अध्यक्ष प्रदिप सापकोटाले पत्रकारहरुसँग भने, ‘यसका हरेक संस्करणलाई विशेष र आकर्षक बनाउँदै लैजान इभेन्टहरु थपिंदै लगेका छौं ।’

इभेन्ट डाइरेक्टर सतिश निरौलाले साइकल उत्सव अन्तर्गत किड्स रेशले बालबालिकालाई साइकल प्रतिको आकर्षण बढाउने र सुरक्षित साइक्लिङ्गको ज्ञान उपलब्ध गराउने बताए । ‘टूर डे ठाकुरद्वाराले देश, विदेशमा नेपालगन्जलाई साइकल सिटीका रुपमा स्थापित गर्दैछ’, आज बिहीबारदेखि शनिबारसम्म विभिन्न कार्यक्रम गरी मनाइने उत्सवबारे जानकारी दिंदै इभेन्ट डाइरेक्टर निरौलाले भने, ‘भारत र चिनियाँ साक्लिष्टहरु समेतको सहभागिताले यसलाई अझ आकर्षक बनाइरहेको छ ।’

अघिल्लो बर्ष भारतीय सहभागिता उल्लेख्य भएकोमा यसपटकबाट चिनियाँ साइकल यात्री समेत सहभागी हुने जानकारी दिंदै निरौलाले दुई सय बढी सहभागीहरु नेपालगन्जका विभिन्न भाग हुँदै बर्दियाको ठाकुरद्वारासम्म पुगेर फर्कने बताए ।

पत्रकार सम्मेलन बीच मुख्य प्रायोजक बिवाइडीका प्रतिनिधि बसन्त भण्डारी र क्लब अध्यक्ष सापकोटाले सम्झौता आदानप्रदान गर्दै जर्सी सार्वजनिक गरे । ‘हामी वातावरण मैत्री साइकल अभियानलाई सहयोग गर्न जोडिएका छौं’, इभी गाडीका वितरक भण्डारीले भने ।

प्रतियोगिता आयोजनाका लागि कुल २७ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाबाट बाँके, बर्दियाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने विश्वास आयोजकले लिएका छन् ।
आज हुने साइकल रेसका प्रथम, द्वितिय र तृतीय बालबालिकालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार र सान्त्वना ५ सय प्रदान गरिने सचिव इन्द्र गिरीले जानकारी दिए ।

Exit mobile version