पोखरामा ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुईजनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्वतको कुश्माका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए । गैरेले पोखरा-१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र तिनै गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनले गैरेलाई माघ १८ गते हिन्दी भाषामा धम्कीपूणर् म्यासेज पठाउँदै पाँच करोड रुपैयाँ मागेका थिए ।
हिजो फिरौती माग्नेहरू दीप सच्चाई सेवा केन्द्रमै गएका बेला पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी तीन वटा मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो । उनीहरूको साथबाट विभिन्न हतियार पनि बरामद भएको छ ।