नेपालगन्ज–जनकपुर हवाई उडान पहल

पर्यटन प्रवद्र्धनका लागि नेपालगन्ज–जनकपुर हवाई उडान पहल थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल व्यवसायी तथा सरोकारवाला सम्मिलित बैठकले नेपालगन्ज–जनकपुर उडानका लागि नेपालका हवाई सेवाप्रदायक कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको हो ।


बैठकमा सहभागी पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले धार्मिक पर्यटनको सम्भावना रहेकाले नेपालगन्ज–जनकपुर उडानका लागि ठोस पहल गर्ने निर्णय भएको जानकारी दिए । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले यसबारेमा विगतदेखि नै पहल गरिरहेका थिए । बैठकमा सहभागी अध्यक्ष सिग्देलले उडानले पश्चिम तराईलाई जोड्न सकिने बताएका छन् । ‘उडानले भविष्यमा जनकपुर, नेपालगन्ज र भारतको अयोध्या जोड्न सकिने सम्भावना हुन्छ’, सिग्देल भन्छन्, ‘यसले धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य बनाउन सकिन्छ ।’


त्यस्तै, बैठकले वेष्टर्न ट्राभल मार्टका सम्बन्धमा पनि छलफल गरेको छ । बैठकले ट्राभल मार्टका लागि पर्यटन बोर्डले विनियोजन गरेको नेपालगन्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक श्रेष्ठले जानकारी दिएका छन् । उनले आगामी चैत्रमा ट्राभल मार्टको तयारी भैरहेको जानकारी दिंदै त्यसका लागि बोर्डले विनियोजन गरेको बजेट नेपालगन्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको बताए । ‘उपमहानगरपालिकाको कोषमा रकम जम्मा भए लगत्तै ट्राभल मार्टको तयारी दु्रत रूपमा अगाडि बढाइनेछ’, उनले भने ।

Exit mobile version