रुसी सेनामा भर्ना भएका आफन्तको उद्धारको माग गर्दै एक सय ४० जनाका परिवारले निवेदन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म कन्सुलर सेवा विभागमा एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका र थप निवेदन आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको ज्यान गएको र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने क्रम बढेको हो । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये १२ जना नेपालीको ज्यान गएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन् ।
रुसी सेनामा भर्ना हुन जाने नेपाली धेरैजसो भ्रमण भिसामार्फत खाडीका देश हुँदै रुस गएका पाइएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको भए पनि शव प्राप्त हुने नहुने टुङ्गो छैन ।