जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ । १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो ।
बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन् । जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ । झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ । त्यस्तै उद्घाटनअघि नै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ । पुस १३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो ।
यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याइँकर्ताहरू दुई समूहमा विभाजित हुनु हो ।’ उनीहरू समूहमा विभाजित हुँदा एक समूहले अर्को समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ ।
१८ वर्षभन्दा माथिका बालबिज्याइँकर्तालाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए ।
‘बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गइरहेको छ । १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुनविपरीतको कार्यलाई अपराध नभनी बिज्याइँ भन्ने गरिन्छ र त्यस्तो बिज्याइँ गर्ने व्यक्तिलाई बाल बिज्याइँकर्ता भनिन्छ,’ उनले भने, ‘अनि त्यस्ता बालबिज्याइँकर्तालाई थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ । तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुन्छ ।’
बाँकेमा आफ्नै साथीहरूबाट एकजनाको मृत्युसमेत भएको र अर्को १८ वर्षमाथिका बिज्याइँकर्ताहरूलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बाल सुधार गृहमा बेलाबेलामा झडप हुने गरेको उनको भनाइ छ ।
झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सिप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ । तर, यहीभित्रका बालबिज्याइँकर्ताबीच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन ।
बालबिज्याइँकर्ताहरूले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन् । ‘स्वच्छ खानेपानी खान पाएका छैनौं । खाना पनि त्यति राम्रो हुँदैन,’ एकजना बालबिज्याइँकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ । आफन्त भेट्न पनि काँडेतारले छेकिन्छ ।’
बालसुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरूपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याइँकर्ताहरूले बताएका छन् । बालसुधार गृहमा चुस्तदुरुस्त व्यवस्थापन नभएको बालअधिकारकर्मी साहिल अन्सारीले जनाए ।
‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरूलाई सुधार हुनेखालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरूको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुदलगायतका क्रियाकलाप गर्नुपर्छ । जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ ।’
उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच अपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो । अपाधिक क्रियाकलापतिर धकेल्ने होइन ।’
बाल सुधार गृहमा व्यवस्थापममा चुनौती हुँदा यहाँका बालबिज्याइँकर्ताहरू कुलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरू बताउँछन् ।
‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ ।’
बालसुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई सुध्रिने खालका गतिविधि गर्नुपर्ने उनको भनाइ छ ।