शनिबार नेपालगन्ज–जनकपुर हवाई उडान

नेपालगन्जबाट जनकपुरका लागि हवाई उडान हुने भएको छ । उडानका लागि पहल गर्दै आएको नाट्टा बाँकेका संयोजक श्रीराम सिग्देलले आगामी शनिबार दिउँसो यति एयरलाइन्सले हवाई उडान गर्ने जानकारी दिएका छन् ।
यसअघि, पर्यटन प्रवद्र्धनका लागि नेपालगन्ज–जनकपुर हवाई उडान पहल थालिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल व्यवसायी तथा सरोकारवाला सम्मिलित बैठकले नेपालगन्ज–जनकपुर उडानका लागि नेपालका हवाई सेवाप्रदायक कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले यसबारेमा विगतदेखि नै पहल गरिरहेका थिए । बैठकमा सहभागी अध्यक्ष सिग्देलले उडानले पश्चिम तराईलाई जोड्न सकिने बताएका छन् । ‘उडानले भविष्यमा जनकपुर, नेपालगन्ज र भारतको अयोध्या जोड्न सकिने सम्भावना हुन्छ’, सिग्देल भन्छन्, ‘यसले धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य बनाउन सकिन्छ ।’

Exit mobile version