देशमा आजः ८ बजे ७ खबर
- सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख जानकारी दिएको हो । यता, सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरे पनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झनास्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
- सरकारले चालू आर्थिक वर्ष २०८०/८१ बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारेको छ । बजेटको अर्धवाषिर्क समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो । गएको जेठ १५ गते सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
- नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ । यो नेपालको कुल जनसंख्याको करिब ५८ लाख हो । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौँथो (२०७९/८०) सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो ।
- बर्दियामा पहिलोपटक समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नम्बर २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने सुप्रिता गुरुङको जोडीले कानुनीरूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् ।
- प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिएका छन् । उनले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने बेला भएको उल्लेख गर्दै अब कामको आधारमा मूल्यांकन हुने बताए ।
- दिक्तेलको हलेसी पोलिक्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको घटनाको ११ वर्षपछि यसमा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन् । २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७२ वर्षीय चन्द्रसेन राईको उपचारको क्रममा भएपछि त्यसमा संलग्न सुनसरी गढी गाउँपालिका–३ मझौका ४१ वर्षीय जिवानन्द मेहता पक्राउ परेका हुन् ।
- बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएका छन् । केही महिनाअघि मात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन् ।
- बाजुराको सदरमुकाम मार्तडीस्थित चामलको गोदाममा ताला लगाइएको छ । सधैँ खाद्यान्नको अभाव भइरहने बाजुरामा चामल किन्नेको भीड लागेपछि गोदाममा ताला लगाइएको हो । सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ताला लगाइएको छ । सस्तो मूल्य पर्ने मोटा चामल आउन थालेपछि किन्नेको भीड लाग्ने गरेको र चामल अभाव भएको भन्दै बिक्रीवितरण बन्द गरिएको हो ।