- पाल्पाको तिनाउ गाउँपालिका-६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा सातजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए ।
- लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गरेको छ । लेखा समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
- खुला सीमा, खुकुलो अध्यागमन नीति र कमजोर नियमन प्रणालीका कारण नेपालमा अवैध शरणार्थी संख्या तीन वर्षमा तेब्बर भएको छ । तेस्रो देश जान ‘ट्रान्जिट’का रूपमा नेपाली भूमिलाई शरणार्थीहरूले दुरुपयोग गर्ने क्रम बढेको छ । विज्ञहरूले यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिले जोखिम ठानेका छन् । अध्यागमन विभागका अनुसार हाल नेपालमा १६ देशका नौ सय ८८ अवैध शरणार्थी छन् । जसमध्ये ६ सय ८२ जनाले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र लिइसकेका छन् भने अन्य तीन सय ६ जनाले पनि परिचयपत्रका लागि आवेदन दिएका छन् ।
- चालु आर्थिक वर्षको सात महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । बजेटमाफर्त चालु आर्थिक वर्षमा सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पुँजीगत खर्चको लक्ष्य लिएको थियो । यस्तै आम्दानीतर्फ राजस्व र अनुदान गरेर १४ खर्ब ७२ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा सात महिनामा जम्मा पाँच खर्ब ८८ अर्ब २३ करोड रुपैयाँ मात्रै उठेको छ ।
- ६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन् । पक्राउ परेकामा ६७ जना पुरूष र २२ जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठले जानकारी दिए । नेपालबाट भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू नेपालीहरू काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेको एसएसपी श्रेष्ठ बताएका छन् ।
- सोमबार १५ अङ्कले बढेको शेयर बजार मंगलबार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।