नेपालगन्जमा गुट्खाजन्य पदार्थले निम्त्याएको समस्या

वीरेन्द्र जैसी

गुट्खा तथा खैनीको सेवनले सेवन गर्ने व्यक्तिलाई त क्यान्सरको नजिक लैजान्छ नै, यसले हाम्रो जमिन तथा वातावरणलाई पनि क्यान्सरतर्फ लगिरहेको छ ।

नेपालगन्जको सडकमा देखिने प्लाष्टिकजन्य फोहोरलाई नियाल्नुहोला । यहाँ देखिन्छ गुट्खाजन्य पदार्थका खोलहरुको आधिपत्य । यसैबाट अन्दाजा लगाउन सकिन्छ हामीले क्यान्सरको एक प्रमुख स्रोतलाई खाएर कसरी आफ्नै स्वास्थ्यलाई त जोखिममा राखेका छौँ नै सहरको जमिनलाई प्लाष्टिकमय बनाएर अपराध पनि गरिरहेका छौँ ।

सडकको किनारामा खुट्खाका खोल, बसपार्कमा गुट्खा । बिजुलीका पोलमुनी, चोकमा गुट्खा, चौतारामा गुट्खा । पवित्र स्थल मानिने मन्दिरमा पनि गुट्खा अनि विद्यालयमा पनि गुट्खा ।

नेपालगन्ज बहुत थुक्छ । के खाएर ? पान, गुट्खा, सुर्ती खाएर । सडकमा थुक्छ, अस्पतालमा थुक्छ । शौचालयमा थुक्छ, कार्यालयमा थुक्छ । यहाँका मानिसहरुलाई लाग्छ, थुक्दै हिँड्नु नैसर्गिक अधिकार हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न २०६८ सालमै ऐन बनेको छ । तर त्यसको कार्यान्वयन छैन बराबर । ऐनले भन्छ, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन । तर सजाय छ मात्र एक सय रुपैयाँ । यो सजाय पनि कसले गरिदेओस् ।

एनले भन्छ, बालबालिकालाई सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन, विद्यालय तथा स्वास्थ्य संस्था लगायतका स्थलको कम्तिमा एक सय मिटर क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न पाइँदैन । ऐनले यो पनि भन्छ कि सुर्तीजन्य पदार्थलाई पसलमा प्रदर्शन गरेर राख्न पाइँदैन । लुकाएर राख ।

तर, विद्यालयलगायत सार्वजनिक क्षेत्र वरपरका दृष्यले उक्त ऐनलाई खिल्ली उडाइरहेको छ । राज्यलाई गिज्याइरहेको छ ।

विद्यालयको गेटमै सुर्तीजन्य पदार्थको खुलेआम विक्रीवितरण पनि भइरहेको छ । रोकिदिने कसले ?

मन्दिरभित्र पनि गुट्खाजन्य पदार्थ बिक्रीका लागि प्रदर्शनमा राखिएको देख्न यहीँ पाइन्छ । बागेश्वरी मन्दिर भित्रै गुट्खाको बिक्री भइरहेको हुन्छ ।

गुट्खा तथा सुर्तीजन्य पदार्थका खोलहरुले वर्षायाममा पानीको निकास थुनेर डुबानको समस्या पनि निम्त्याइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी पनि नेपालगन्जको सडकमा उत्र्सीत फोहोरमा गुट्खा तथा सुर्ती पदार्थका खोलको मुख्य हिस्सा रहेको बताउँछन् ।

अर्कोतिर नेपालगन्जमा अधिकांश भारतबाट आयातित गुट्खा तथा सुर्तीको आधिपत्य छ । ती उत्पादन नेपालमा वैद्य तरिकाले आयात हुन् होइनन् भन्ने पनि प्रष्ट छैन । नेपालगन्ज भन्सार हुँदै चालु आवको पुस मसान्तसम्म एक करोड ८३ लाख मूल्यको सुर्ती आयात भएको देखिन्छ । तर, उपभोगका दृष्टिले यो निकै कम परिणाम हो ।

नेपालगन्जले फोहोर व्यवस्थापनमा पछिल्लो एक दशकमा उल्लेख्य प्रगति त गरेको छ । तर यो प्रर्याप्त छैन । सडक तथा सार्वजनिक स्थलमा प्लाष्टिकजन्य फोहोर अझै कम भएको छैन । उक्त फोहोरमा गुट्खा तथा सुर्तीजन्य फोहोर मुख्य रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २०८१ को वैसाख १ गतेबाट सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ पूणर्रुपमा निषेध गर्ने त भनेको छ ? तर यसअघिका यस्तै खालका घोषणाको हालत हेर्दा यस घोषणालाई पत्याइहाल्ने आधार देखिँदैन ।

Exit mobile version