सार्वजनिक शौचालय व्यवस्थित गर्न छलफल

नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको हो । 

सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाई, मर्मतसम्भार लगायतका विषयमा ध्यान दिन आवश्यक रहेको सरोकारवालाको भनाई छ । आकर्षक सार्वजनिक शौचालय निर्माण गरिन्छ । तर, आवश्यक व्यवस्थापन र रेखदेखको अभावमा जीर्ण बन्दै जाने समस्या छ । यिनको टिकाउको लागि कार्ययोजना बनाउन आवश्यक देखिन्छ । शौचालय सञ्चालन खर्च व्यवस्थापनका लागि कुन मोडेलमा कसरी जान सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच मन्थन भएको छ । शौचालय सेवामुखी भएपनि दीर्घकालीन खर्च ब्यवस्थापनका लागि न्यूनतम शुल्क लिँदै नागरिकको दायित्वबोध समेत बढाउन आवश्यक रहेको आवश्यकता औंल्याइएको छ । 

छलफल पश्चात नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एसएनभी नेपालले पुनःनिर्माण गरेका दुई वटा सार्वजनिक शौचालयको निरीक्षण पनि गरिएको छ । भेरी अस्पताल र मासुमण्डीको छेउँमा रहेका दुई वटा शुलभ सार्वजनिक शौचालयको निरीक्षण गरिएको हो । १८ लाख लागतमा ती शौचायलको पुनः निर्माण गरिएको एसएनभी नेपालले जनाएको छ । भेरी अस्पतालको छेउँमा रहेको शौचालयमा स्नान गृहको पनि व्यवस्था गरिएको छ । शौचालयलाई अपांगमैत्री पनि बनाइएको छ । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, भौतिक पूर्वाधार समिति संयोजक बसन्त कनोजिया, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख लगायत उपस्थित थिए । एसएनभी नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा वास एसडिजी र गेरुवा ग्रामीण जागरण संघको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । 

Exit mobile version