- बचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारस्थित माता पाथीभरा सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनी अध्यक्ष रहेको सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताएका छन् ।
- चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १५.३० प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म)मा कुल चार लाख पाँच हजार ५५२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
- शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।
- आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसको बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।
- नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव तयार पारेका छन् ।
- नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका छन् ।
- नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवम् क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ। आफ्नो समूहबाट सुझाव पेस गर्ने क्रममा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
- र, राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै फागुन ९ गते काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएको छ। राप्रपाका वरिष्ठ नेता तथा पदाधिकारीहरूको बुधवार दिउँसो बसेको उक्त निर्णय गरेको हो । बैठकले सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई मागपत्र बुझाउने निर्णय पनि गरेको छ ।