समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रमले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ निकै प्रभावकारी भएको पाइएको छ । द्वन्द्वपीडितहरूको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रमको नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा सहभागी कार्यक्रममा सहभागीले समुदाय स्तरमा नै गुणस्तरीय मानसिक स्वास्थ्य सेवा प्राप्त गरेका कारण उपचारका निम्ती शहरमा महंगो उपचार सेवा लिने समस्या टरेको बादबर्दिया नगरपालिका वडा नं. ८ औरी सीता थापामगरले बताइन् ।
‘श्रीमानका उपचारका निम्ती लाखौं खर्चिए, नियमित चेकजाँच गर्न जान नसक्दा जहिले रोग बल्झिने गरेको थियो । मैले सम्पति धेरै सकेर हार खाएकी थिए ।’ थापा मगरले थपिन् ‘१३ वर्ष देखि हार खाए पछि घरमा थुनेर राखेको थिए, नगर अस्पतालमा नै मानसिक रोगको उपचार पाए पछि मेरो परिवारले नयाँ जीवन पाए जस्तो लाग्छ ।’
बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाद्वारा, स्वीस राजदुतावासको आर्थिक सहयोगमा सी.एम.सी–नेपाल संस्थासंगको साझेदारीमा संचालित उक्त कार्यक्रममा सहभागी अधिकाशंले कार्यक्रम प्रभावकारी भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
बाँसगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा अध्यक्ष तुल प्रसाद गौतमले कार्यक्रमले आत्महत्या रोकथामका साथै कडा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समेत सेवा प्रवाह गरिरहेका कारण सबै वडा र स्वास्थ्य संस्थामा विस्तार गर्नुपर्ने सुझाए ।
मानसिक स्वास्थ्य समस्याको उपचारमा ल्याउन अझै पनि सचेतनामुलक क्रियाकलापलाई अभियानका रूपमा नलगेमा थप जटिल बन्दै जाने भएकाले नगरपालिकाका नेतृत्वले यस बारे आवश्यक बजेट र कार्यक्रम गर्नुपर्ने बताए ।
सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले प्रस्तुतीकरण गर्नुभएको उक्त परियोजना सल्लाहकार समिति बैठकमा संक्रमणकालिन न्यायका अभियान्ता भागीराम चौधरीले कार्यक्रम थप विस्तारका निम्ती पालिकाले नै बजेट बनाई साझेदारी अवधारणमा काम गर्नुपर्ने सुझाएका थिए ।
परियोजना सल्लाहकार समितिको बैठकको अध्यक्षता बाँसगढी नगरपालिकामा नगर प्रमुख खड्क बहादुर खड्का र बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारुले गरेका थिए ।
आगामी वर्षको बजेटमा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन आवश्यक श्रोतको सुनिश्चीतता गर्ने बारे नगरप्रमुखहरूले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
स्वीस राजदुतावासको साझेदारीमा द्वन्दपिडितहरूको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम बाँसगढी र बारबर्दिया नगरपालिका लगायत, राजापुर र ठाकुरबाबा नगरपालिकामा समेत विगत ३ वर्ष देखि झण्डै ७ सय मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यामा रहेका व्यक्तिलाई सेवा प्रदान गर्दै आइरहेको छ ।