नेपालगन्ज–जनकपुर उडानले छोटो समयमै सार्थकता पाएको छ । यद्यपि, व्यवसायिक भन्दा परीक्षणका रूपमा हाल दुई वटा उडान हुन लागेको हो । भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएकै अवसरमा नाट्टा बाँकेले नेपालगन्ज–जनकपुर–अयोध्या जोड्न सकिने सम्भावना उजागर गर्दै त्यसका लागि पहल थालेको थियो । नाट्टाको पहलले छोटो समयमै सार्थकता पाउँदै आज शनिबार नेपालगन्ज–जनकपुर उडान हुने भएको छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले आज शनिबार दिउँसो नेपालगन्जबाट जनकपुरका लागि उडान हुने जानकारी दिएका छन् । शनिबार र सोमबार चार्टर उडान सुनिश्चित भएको हो ।
‘नेपालगन्जबाट जनकपुर उडानले धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगन्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्छ’, नाट्टा बाँके अध्यक्ष सिग्देल भन्छन्, ‘पर्यटन प्रवद्र्धनको सम्भावना औंल्याउँदै त्यसका लागि प्रयास गरेका छौं, सबै मिलि सफल बनाउनु पर्छ ।’ उनले भारतीय नागरिक नेपालगन्ज आएर यहाँबाट जनकपुर पुग्दै त्यहाँ स्थित धार्मिक स्थल पुग्ने सम्भावना अन्तर्गत जनकपुर उडानको प्रयास भएको बताए ।
अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रूपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिएका छन् । उनका अनुसार विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
‘अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ’, अध्यक्ष सिग्देलले भने, ‘यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगन्जको बजार चलायमान हुएर यहाँको व्यापारव्यावसाय गतिशील बन्दै जानेछ ।’
भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उनले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगन्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगन्जको वास्तविक समृद्धि हुने बताए ।
‘भारतको अयोध्याबाट नेपालगन्ज सबैभन्दा नजिकको सहर हो ।
नेपालगन्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ’, उनले भने । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताए ।
नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए । उनले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताए ।