नेपालमै हुलाक टिकट छाप्न सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ सुरु गरेको हो ।
६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट हिजोदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाएकी थिइन् । विभागका महानिर्देशक प्रदीप अधिकारीले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको जानकारी दिए । यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो ।
२०१६ सालदेखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग हुने गरेको छ ।