गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताएअनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ । यसैबीच दुई जना महिलाले बिजुली, पानी, खानालगायत अत्यावश्यक मानवीय आपूर्ति अभावको विषम अवस्थामा बच्चा जन्माएका छन् ।