- आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलोपटक मधेसका दुई ठूला सहर नेपालगन्ज र जनकपुर सीधा हवाई सेवा सुरु भएको छ । नाट्टा बाँके च्याप्टरको पहलमा यति एयरलाइन्सले सुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिबार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको छ । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज-जनकपुर सिधा हवाई उडान सुरु गरिएको उक्त फ्लाइटमा सहभागी दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे जानकारी दिएका छन् ।
- खजुरा गाउँपालिकास्थित निर्माणाधीन फोरलेन सडकमा ज्यालादारी काम गर्ने मजदुरहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । निर्माण कम्पनी गजुरमुखिले दुई महिनादेखि ज्याला दिन आनाकानी गरिरहेको र आफूले पारिश्रमिक नपाउँदा घरपरिवार चलाउन समस्या भएको उनीहरुको भनाइ छ ।
- नयाँ सवस्टेशनमा अपग्रेड गरिएको २४ एमभीए पावर ट्रान्सफरमर चार्ज हुने हुँदा बागेश्वरी, बसपार्क, फुलटेक्रा, एयरपोर्ट, खजुरा, ग्रामीण र हवाई फिडरमा विद्युत् अवरुद्ध हुने भएको छ । आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म यी क्षेत्रमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जानकारी दिएको छ ।
- योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगन्जको तेस्रो साधारणसभाबाट योग गुरु गिरीराज भट्टराई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टंक पौडेल, कोषाध्यक्षमा अम्बिका कोइराला र सहकोषाध्यक्षमा मन्दरा शर्मा निर्वाचित भएका छन् ।
- र, नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी शनिबार १९औँ स्थापना दिवस तथा अभिभावक भेला भव्यरुपमा मनाएको छ ।