स्वदेशी जडिबुटीको अर्गानिक प्रमाणीकरण नहुँदा तेस्रो मुलुकमा बजार पाउन मुस्किल भएको छ । युरोप–अमेरिकाका क्रेताले प्रमाणीकरण गरिएको जडिबुटी खरिद गर्न खोज्छन्, नेपालका अधिकांश जडिबुटीको प्रमाणीकरण हुन नसक्दा बजार खुम्चिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ८३ करोडको स्वदेशी जडिबुटी निर्यात भएको थियो । गत आव २०७९–८० मा १ अर्ब ८८ करोडको निर्यात भएको थियो । चालु आव २०८०–८१ को ६ महिनामा १ अर्ब २१ करोडको निर्यात भएको छ ।
अर्गानिक प्रमाणीकरण गर्न सके नेपाली जडिबुटीले अन्तर्राष्ट्रिय बजारमा बढी मूल्य पाउने र बिक्री पनि बढी हुने विज्ञहरु बताउँछन् । केही गैरसरकारी संस्थाको सक्रियतामा जडिबुटीको अर्गानिक प्रमाणीकरण हुने गरे पनि सरकारको अगुवाइमा भने भएको छैन । कुन क्षेत्रको जडिबुटी हो, गुणस्तर कस्तो छ, अर्गानिक हो कि होइन भन्ने विषय प्रमाणित गर्ने निकाय नहुँदा जडिबुटीको अर्गानिक प्रमाणीकरणमा समस्या देखिएको हो ।