बाँकेका १२ खेलाडीलाई पदक

भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।


उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत १५ देखि १७ गतेसम्म सञ्चालित नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए ।
‘१२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए’, प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले भने । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धी थिए । उनले प्रथम स्थान हासिल गरेका छन् ।


बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै मेडल प्राप्त गरेका हुन् । द्वितीय स्थान हासिल गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरूमा तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति तथा तृतीय स्थान हासिल गर्नेमा युवराज सिंह ठकुरी, हरके सिंह पाण्डे, अभिनव चौधरी रहेका छन् ।


बाँकेबाट प्रशिक्षक श्रेष्ठको नेतृत्वमा १७ जना खेलाडी तथा कोच उमादेवी थापा, टिम मेनेजर प्रविण बहादुर ठकुल्ला, अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश लामिछानेको टोली भारत पुगेको थियो ।
बाँकेबाट सहभागी भएर भारतमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हासिल गर्न सफल भएको प्रशिक्षक श्रेष्ठले बताए ।

Exit mobile version