प्रतिनिधिसभाको आजको बैठकले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो ।
मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने समयावधि सकिनै लाग्दा प्रक्रिया स्थगित गरेको छ ।
दूधले बजार नपाएपछि चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन् । किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरूले कृषि मन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए ।
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरू हुँदैछ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ ।
चालु वर्षको सात महिनामा भएको निर्यातमा १० वटा वस्तुको योगदान ५३ प्रतिशत बढी देखिएको छ । २०८० साउन महिनादेखि माघ महिनासम्ममा ८७ अर्ब रूपैयाँ बराबरको वस्तु नेपाली बजारबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिएको छ । जसमध्ये १० वटा शीर्षकका वस्तुको निर्यात मात्रै करिब ४७ अर्ब रूपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
र, सेयर कारोबार मापक नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । साताको पहिलो दिन सेयर बजार १.३१ प्रतिशतले घटेर २०३४.८२ अंकमा सीमित भएको छ । आज कुल ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल २१ कम्पनीको सेयर मूल्य बढ्यो भने कुल२२५ कम्पनीको मूल्य घट्यो ।