लुम्बिनी प्रदेशमा आफै ज्यान गुमाउनेको घटना चिन्ताजनक रहेको छ । अनाहक ज्यान जाने घटनामा आफै ज्यान गुमाउने बढी रहेको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।
मानवीय त्रुटि, यान्त्रिक कारण हुने दुर्घटनाका घटना भन्दा विविध कारणले मानसिक स्वास्थ्य बिग्रदा हुने आत्महत्याका घटना बढी रहेका छन् । दुर्घटनाका घटनामा ज्यान जाँदा त्यसको न्यूनीकरणका लागि हुने प्रयास त्यो भन्दा बढी जाने कारक बनेको मानसिक स्वास्थ्य प्रवद्र्धनमा भने खासै चासो राखेर ठोस कार्यक्रम अगाडि बढाइएको पाइँदैन ।
आर्थिक बर्ष २०७८÷०७९ मा लुम्बिनीमा भएको भएको १ हजार १ सय ६४ सवारी दुर्घटनामा परी ५ सय ५१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ । सोही आ.व.मा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या दोब्बर बढी रहेको प्रदेश प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷०७९ मा १ हजार ३ सय ३४ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार, आ.व. २०७९÷०८० मा भने आठ सय ९२ सवारी दुर्घटनामा ४ सय ६२ जनाको ज्यान गयो । सोही अवधीमा १ हजार ३ सय ६ जनाले आत्महत्या गरेको तथ्यांक लुम्बिनी प्रदेश प्रहरीको रहेको छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार, चालु आर्थिक बर्ष २०८०÷८१ को पुस मसान्तसम्म लुम्बिनीमा सडक दुर्घटनाबाट २ सय २१ जनाले ज्यान गुमाएको र सोही अवधीमा आत्महत्या गर्नेको संख्या ६ सय ४३ रहेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार, हरेक १० जनामा ४ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको र २०३० सम्ममा त्यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान रहेको छ । मानसिक रोग लागेमा समाजबाट तिरस्कृत हुने डरले पनिमानसिक रोग लुकाउने गरेको मनोविद्हरूले बताउने गर्दछन् ।
आत्महत्याको सोंचाई आउनु भनेको प्रायःजसो केसमा डिप्रेसनको लक्षण देखिन्छ । कतिपयमा हठात् तनाव झेल्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दाको अवस्थामा आत्महत्याको सोंचाई बढी आएको पाइन्छ । मानसिक समस्या बढेपछि आत्महत्याको सोचाई र आत्महत्या पनि बढेको चिकित्सकहरू बताउँछन् ।