पाँच सय ४२ केजी गाँजा बरामद

चितवन प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोकामा राखेर लुकाइएको गाँजा बरामद गरिएको जानकारी दिए ।

राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गरेको थियो । शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको एसपी कार्कीले बताए ।

उनका अनुसार सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो । बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने उनले बताए । प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ । ट्रकका चालक फरार छन् ।

 ‘मेरो कार्यकालमा मात्रै ४ पटक १८० देखि ५४० किलो सम्मको परिमाणमा गाँजा बरामद गरिएको छ । यो नै अहिलेसम्ममा सबभन्दा ठूलो परिमाणमा बरामद भएको हो,’ कार्कीले भने । कार्की सोमबार नै चितवनबाट सरूवा भएर लागुऔषध ब्युरोमा जाँदैछन् ।

Exit mobile version