प्रजातन्त्र दिवसको यात्रा (भिडियोसहित)

आज प्रजातन्त्र दिवस । आजभन्दा ७३ वर्ष अघि, विक्रम सम्वत् २००७ साल फाल्गुन ७ गते अर्थात् आजकै दिन र त्यसको नाम थियो ‘प्रजातन्त्र‘ । राणाहरूको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उदघोषसहित नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको ऐतिहासिक दिन थियो यो ।

जुन क्रान्तिबाट १०४ बर्से लामो निरङ्कुश जहानीया राणा शासनको अन्त्य भयो र प्रजातन्त्रको सुन्दर वृक्षारोपण भयो । २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपथ्र्याे होला ।

जंगबहादुर राणाले सूत्रपात गरेको ‘जहाँनिया एकतन्त्री शासन’ १ सय ४ वर्ष चल्यो । त्यो कालखण्डमा कार्यकारिणी, विधायिकी तथा न्यायापालिकाका हरेक अधिकार राणामा मात्र निहित थियो । अधिकार र राज्य स्रोत राष्ट्रिय हितभन्दा राणा हितका निम्ति प्रयोग हुन्थ्यो । राज्य सञ्चालन शैली स्वेच्छाचारी र परिवारमुखी थियो । राजा त्रिभुवनबाट राणा शासकबाट शासकीय अख्तियार फिर्ता लिँदै २००७ फागुन ७ का दिन शाही घोषणा आयो, ‘हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरुको निर्वाचन गरेको एक वैधानिकसभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होवस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले ।’

 विधान तयार नभएसम्म राणा र कांग्रेस सम्मिलित मन्त्रिपरिषद् बन्यो । राज्यको शासन गर्ने अधिकार मन्त्रिपरिषद्लाई दिइयो । राणा शासकद्वारा प्रताडित जनताले स्वतन्त्रताको सास फेर्न पाए । प्रजातन्त्रसँगै आफूलाई लागेका विषयमा खुलारुपले बोल्न पाए । त्यही कारण आजको दिनलाई प्रजातन्त्रको दिवसको रुपमा ७३ वर्षदेखि मनाइँदैछ । ३० बर्से पञ्चायती व्यवस्था पनि राणाशाही जस्तै थियो ।

उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि २०१७ पुस १ मा खोसिएको इतिहास जिवितै छ । पञ्चायतविरुद्ध निरन्तर आन्दोलन चलिरह्यो र २०३६ मा जनमत संग्रह गर्न पञ्चायती शासक बाध्य भयो । तर जनमत संग्रहमा व्यापक धाँधली गरी नागरिकको मत र आवाज दबाउने श्रृंखला नियमित रह्यो । २०४६ चैत २६ को मध्यरातमा दलमाथि लागेको प्रतिबन्ध हटेसँगै मुलुकमा बहुदलीय प्रजातन्त्र अनि संवैधानिक राजतन्त्रतिर मुलुक गयो ।

संसदीय प्रजातन्त्रले स्थायित्व नपाउँदै सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै २०६२ चैत २४ बाट नियमित चलेको १९ दिने जनआन्दोलनसँगै २०६३ वैशाख ११ मा लोकतन्त्र स्थापना गर्यो । त्यही आन्दोलनको बलमा नेपाल आज संघीय गणतान्त्रिक देशमा परिणत गर्ने ढोका खोलेको हो । सायद आज यिनै इतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ति, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।

हरेक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर, प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने तयार देखिँदैनन् ।

त्यसैले त उतिबेला प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । २००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरह्यो । प्रजातन्त्र स्थापना भएको ७३ वर्ष बितिसक्दा पनि दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन नसक्नु विडम्बनापूर्ण हो ।

२००७ सालको जनक्रान्तिले जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने ढोका खोलेको हो । तर, प्रजातान्त्रिक व्यवस्था १० वर्ष पनि टिकाउ भएन । राजा महेन्द्रको बढ्दो महत्त्वाकांक्षाका कारण २०१७ सालमा प्रजातन्त्रको कू भयो र निरंकुश पञ्चायती व्यवस्था लागू भयो ।

पटकपटक भएका संघर्षको परिणामस्वरूप २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापना भए पनि आन्दोलनका सहयात्री दलहरूबीच लगत्तै सत्ताका लागि खिचातानी सुरु भइहाल्यो ।

सामान्य बहुमत ल्याएको सत्ता पक्षको व्यवहार सबै जितेजस्तो देखियो भने प्रतिपक्षमा दलमा धैर्यता देखिएन । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलायो जसका कारण सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण रह्यो । यसले राजनीतिमा अस्थिरता मात्रै ल्याएन, नेताहरूमा देखिएको महत्वाकांक्षाका कारण एउटै पार्टीभित्र अनेकौं गुट÷उपगुटको जन्म भयो ।

बहुमतको संसद् विघटन गर्नेदेखि आफ्नै पार्टी नेतृत्वको सरकार गिराउनेसम्मका खेल भए । एकातिर संसदीय राजनीतिको विकृत अनुहार देखियो भने अर्कोतिर हिंसात्मक आन्दोलनले मुलुकलाई द्वन्द्वको बाटोमा धकेलिदियो । त्यही सेरोफेरोमा दरबारको महत्त्वाकांक्षा यसरी बढ्यो कि प्रजातन्त्रको घाँटी निमोठ्ने काम भयो । तर, त्यसपछि भएको शान्तिपूर्ण जनआन्दोलनले लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा तय गरे पनि दलहरूमा भने मर्यादित राजनीतिक संस्कारको अभाव देखिनु सर्वथा चिन्ताको विषय हो । जसले गर्दा बेलाबेला फेरबदल भएका व्यवस्थाले जनताका आकांक्षा बदल्न सकेनन् ।

जसको फलस्वरुप अहिले व्यवस्था विरोधी अभिव्यक्ति पनि आउन थालेका छन् । के यी अभिव्यक्तिलाई व्यवस्था परिवर्तनका सुरुवाती क्षण हुन् ? व्यवस्था बलिलिइरहने तर आधारभूत तहमा बसेका नागरिकको अवस्था उस्तै रहिरहँदा व्यवस्थाको अस्थीरता जिवितै रहने त होइन ?

ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नागरिकको अवस्था बदलियोस् ताकि व्यवस्था विरोधी स्वर आफै मत्थर बनुन् । त्यसो भयो भने प्रजातान्त्रिक योद्धाहरूको सपना पूरा हुनुका साथै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता पनि रहनेछ । प्रजातन्त्र दिवसको शुभकामना ।

Exit mobile version