- सोमबार राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटको इशनाथ नगरपालिकामा भएको दुई पक्षीय झडपको विषयलाई लिएर सोमबार वीरगञ्जमा पनि विरोध जुलुस भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गरेका हुन् । वीरगञ्जमा पनि विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएर सर्वसाधारणको सुरक्षामा जोखिम हुनसक्ने भन्दै प्रजिअ भुसालले कर्फ्यू आदेश जारी गररेका हुन् ।
- नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । महासमितिको बैठक १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुने छन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
- प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा समय लिएर एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वाला बालकुमारी घटना, मन्त्री किराती रामग्राम स्तुप क्षेत्रको जग्गा लिज प्रकरण र मन्त्री बस्नेत टेरामक्स खरिद प्रकरणमा मुछिएका कारण उनीहरूले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
- नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको सरकारी तथ्याङ्क छ ।
- लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
- र, कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरे पनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए ।