बाँकेका खेती, किसानी गर्ने अधिकांस कृषकलाई आफ्नै उत्पादनले बर्षभरी खान नपुग्ने तथ्यांकले देखाएको छ । हालै सार्वजनिक राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार, बाँकेमा रहेका कुल ६७ हजार ८ सय ८५ कृषक परिवार रहेकोमा २९ हजार ८ सय १ परिवारलाई कृषि उत्पादनबाट भएको आम्दानीले बर्षभरी खान पुग्दैन । कृषक परिवार मध्ये कृषि मुख्य स्रोत भएका ४६ हजार ४ सय ४८ परिवार र गैर कृषि मुख्य स्रोत भएका परिवारको संख्या २१ हजार ४ सय ३८ रहेको छ ।
बाँकेमा कृषि अंगालेका परिवार मध्ये खान नपूग्ने अवधी अनुसार परिवार, संख्या १ देखि ३ महिना ८ हजार १ सय २८ परिवार, ४ देखि ६ महिना १० हजार ६ सय ६१ परिवार, ७ देखि ९ महिना ६ हजार ४ सय ७५ परिवार र १० देखि १२ महिना ४ हजार ५ सय ३७ रहेका छन् ।
बाँके मात्रै नभई लुम्बिनी प्रदेशमा ५१ प्रतिशत कृषक परिवारलाई आफ्नो उत्पादनले बर्षभरी खान नपुग्ने राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकले देखाएको छ । लुम्बिनीमा ११ लाख ४१ हजार परिवारमध्ये ६ लाख ६५ हजार ९२ कृषक परिवार छन् र ४ लाख २६ हजार ६१४ हेक्टर जमिन कृषिकर्म भइरहेको छ ।
राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार नेपालमा कुल घर परिवारमध्ये ६२ प्रतिशत र लुम्बिनीमा ६७ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि छ ।
लुम्बिनीमा कृषि उत्पादन हुने जग्गाको क्षेत्रफल पनि प्रत्येक वर्ष घट्दै गइरहेको कृषि गणनाले देखाएको छ । २०६८ सालमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा २०७८ मा धान खेती गर्ने क्षेत्रफल घटेर १२ लाख १६.४ हजार हेक्टरमा झरेको छ । यस्तै ६ लाख ७३ हजार ७०० हेक्टर क्षेत्रफलमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टर क्षेत्रफलमा गहुँ र ८४ हजार ४०० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ । २०६८ को कृषि गणनामा ५ लाख ५९ हजार ९०० हेक्टरमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टरमा गहुँ र १ लाख ७ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको थियो । लुम्बिनीमा धान खेती हुने जग्गाको क्षेत्रफल २ लाख ४८ हजार ९८४, मकैको ७७ हजार ७७९, गहुँको १ लाख ६८ हजार ८२६ र तरकारीको १६ हजार ५८८ हेक्टर रहेको छ ।
राप्तीसोनारीमा सबैभन्दा बढी कृषक
बाँकेमा सबैभन्दा बढी कृषक परिवार राप्तीसोनारी गाउँपालिकामा रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकमा सार्वजनिक भएको छ ।
बाँकेमा कुल ६७ हजार ८ सय ८५ कृषक रहेकोमा राप्तीसोनारी गाउँपालिकामा १२ हजार ४७ रहेका छन् ।
त्यस्तै बैजनाथ गाउँपालिकामा ११ हजार ८ सय ४९ परिवार, कोहलपुरमा ८ हजार ५ सय ७५, खजुरा गाउँपालिकामा ९ हजार ९ सय ५२, जानकी गाउँपालिकामा ६ हजार २ सय ७४, नेपालगन्ज उपमहानगरपालिकामा ७ हजार २ सय २२, डुडुवा गाउँपालिकामा ५ हजार ७१ र नरैनापुरमा ६ हजार ९५ कृषक परिवार रहेका छन् ।