नेपालगन्ज उपमहानगरपालिकामा रात्रीकालिन फुड लेन सञ्चालनका लागि पहल थालिएको छ । त्यसका लागि पर्यटन डिभिजन कार्यालय बाँकेले उचित र उपयुक्त स्थान एकिन गर्न नेपालगन्ज उपमहानगरपालिकालाई पत्राचार गरेको छ ।
नाट्टा बाँकेले लामो समयदेखि नेपालगन्जमा रात्रीकालिन स्ट्रीट फूड लेन सञ्चालनका लागि पहल गर्दै आएको थियो । यसअघि गरिएको पहल स्थगित भएकोमा अहिले पर्यटन डिभिजन कार्यालयले त्यसका लागि पहल अगाडि बढाएको हो ।
पर्यटन डिभिजन कार्यालयले रात्री कालिन समयमा रैथाने खानाको स्ट्रीट फूड लेन संचालन गर्ने कार्यको लागि उचित र उपयुक्त स्थान एकिन गरि सहयोग गर्न आव्हान गरेसँगै यसअघि नाट्टाको पहलले सार्थकता पाउने सम्भावना बढेको छ ।
पर्यटन डिभिजन कार्यालयले रैथाने खानाको परिकारको व्यवसाय गर्दै आएका वा अन्य स्थानमा रैथाने खानाको व्यवसाय गरेका व्यवसायीहरुलाई तालिम समेत दिने भएको छ । २० जना व्यवसायीलाई छनोट गरी पठाउन पर्यटन डिभिजन कार्यालयले उपमहानगरपालिकासँग अनुरोध गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रममा परम्परागत तथा रैथाने खानाहरु (मगर, गुरुङ्ग, थारु, खस÷आर्य, अवध तथा अन्य जात जातिको ढिकरी, चुकौनि, बटुक, राबडी, पेडा लगायत अन्य रैथाने खाना) को गुणस्तरीय उत्पादन र वजारीकरण गर्ने नीति लिएको थियो । त्यसका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ ।
पर्यटन डिभिजन कार्यालयले नेपालगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा परम्पारगत रुपमा ठेलामा रैथाने खानाको परिकारको व्यवसाय गर्दै आएका वा अन्य स्थानमा रैथाने खानाको व्यवसाय गरेका व्यवसायीहरुमध्ये इच्छुक व्यक्तिहरुलाई खानाको गुणस्तर र आतिथ्यता सम्बन्धी विषयमा तालिम प्रदान गर्न लागेको हो ।
तालिममा सहभागीहरुलाई स्वीकृत लागत अनुमानको पचास प्रतिशत लागत सहभागितामा सुविधायुक्त ठेला खरिद गरी वितरण गरिने कार्ययोजना रहेको पर्यटन डिभिजन कार्यालयले जानकारी दिएको छ ।