लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का सांसद यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ । कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाएर नजिकैको स-मिललाई बिक्री गरी अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उक्त उजुरीपछि अख्तियारले थालेको अनुसन्धानबाट २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए । ६ वटा कटान प्लटहरूमा विभिन्न जातका ८०३ वटा रूखहरूमा छपान भएको थियो । जसमध्ये ८०१ वटा रूख काटिएका थिए । त्यसको नापजाँचको आधारमा ३५ हजार ७७८.१० क्युफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनुपर्ने अख्तियारले जनाएको छ ।
तर मिलेमतोमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएको पाइएको हो । ठेक्का पाएको गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंले संकलन उत्पादन गर्न लिएको प्लटबाट काठ-दाउरा, फाएरलाइन-१, ढलापडा प्लट र फाएरलाइन-२ को गरी चार वटै प्लटबाट ९ लाख ३९ हजार १३५ रुपैयाँ बराबरको हिनामिना गरेको देखिएको हो ।
त्यसैगरी ए आर काठ दाउरा खरिद बिक्री सेन्टर काठमाडौंले संकलन उत्पादन गर्न ठेक्का लिएका दुई वटा प्लटमा सम्झौता भन्दा कम परिमाणमा काठ उत्पादन भएको देखाएर भ्रष्टाचार गरेको देखिएको हो । दुई प्लटबाट १९ लाख ७३ हजार ५८ रुपैयाँ बराबरको वन पैदावर हिनामिना भएको प्रवक्ता रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी ६ वटा प्लटमा १९ जनाको मिलेमतोमा २९ लाख १२ हजार १९३ रुपैयाँ बराबरको वन पैदावर हानिनोक्सानी भएको भन्दै कैद तथा सजायको मागदाबी भएको हो ।