नेपालगन्जमा ४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । फाल्गुन १३ देखि १९ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष मुनीका ४२ हजार २ सय ७० बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
‘प्रत्येक वडाका कम्तीमा तीन वटा सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउँदैछौं,’ स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयो-‘दादुरा खोप लगाउन प्रत्येक घरमा हामीले निमन्त्रणा कार्ड पनि पठाउँदैछौं ।’ खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । चन्दले नेपालगन्ज उपमहानगरपालिकामा ८० प्रतिशत खोप कभरेज भएपनि वडागत रुपमा एकरुपता नरहेको बताउनुभयो ।
गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगन्जमा दादुराको महामारी फैलिएको थियो । त्यसक्रममा २१४ जना दादुरा संक्रमित बालबालिका फेला परेका थिए । एक जना बालकको ज्यानै गएको थियो । महामारी फैलिनासाथ सुरु गरिएको खोप अभियानमा सतप्रतिशत बालबालिकाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले दादुरा-रुबेला खोप अभियानको परिणाम कागजमा मात्र सीमित हुन सक्ने भन्दै वास्तविकरुपमा सफल बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जिल्लामा दादुरा-रुबेला विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र हातेमालो आवश्यक रहेको बताउनुभयो ।
नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइएकोमा केही जिल्लाहरुमा महामारीकै रुपमा दादुरा देखिएपछि सन् २०२६ लाई नयाँ लक्ष्य तोकिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोपै लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन् ।