घरेलु हिंसामा उजुरी दिंदै पुरुष

समान्यतया घरेलु हिंसाका घटनामा महिलाको मात्रै उजुरी पर्ने र तथ्यांकमा राखिने गर्दछ । तर, पछिल्लो समय पुरुषले पनि घरेलु हिंसाका उजुरी गर्ने र तथ्यांकमा समेत राखिने गरेको छ ।
बाँकेमा सन् २०२३ मा घरेलु् हिंसा पीडित भएको भन्दै १ सय ५९ पुरुषले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् । यद्यपि, केन्द्रमा परेका अधिकांस उजुरीहरू भने महिलाले दर्ता गराएका छन् ।
इन्सेकले अभिलेखिकरण गरेको तथ्यांक अनुसार, बाँकेमा सन् २०२३ मा ७ सय ७८ महिला र १ सय ५९ पुरुषले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसा पीडित भएको भन्दै उजुरी दर्ता गराएका हुन् । जसमा कुटपिट गरी घर निकाला गरिएका शारीरिक हिंसा सम्बन्धी ३ सय ४८ जना, मानसिक हिंसा सम्बन्धी ५ सय १५ जना, खान लाउन नदिएको ७४ उजुरीमा मेलमिलाप गरिएको छ । केन्द्रकी प्रहरी निरीक्षक महेश्वरी विष्टले १ सय ५६ उजुरी कानुनी प्रक्रियामा अघि बढेको जानकारी दिएकी छन् ।
सन् २०२३ मा बाँकेमा बलात्कारका घटना १८ वटा, बलात्कार प्रयासको १, बेचबिखन तथा ओसारपोसार घटनाका दुई, बोक्सीको आरोपको घटनामा १, बेचबिखन तथा ओसारपोसार प्रयासका घटनामा पाँच र घरेलु हिंसाका घटनामा ४१ महिला पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
सन् २०२२ मा बाँकेमा घरेलु हिंसाका १ सय १८ उजुरी मिलापत्रमा टुगिएका थिए । सन् २०२२ मा परेका कुल २ सय ६० वटा घरेलु हिंसाका उजुरीमा प्रहरीले १ सय १८ घटनामा मिलापत्र गराएको थियो ।
सन् २०२२ मा घरेलू हिंसा पीडित भन्दै २ सय ६० जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक
सेवा केन्द्रमा उजुरी दर्ता गराएका थिए । जसमा कुटपिट गरी घरनिकाला गरिएका १ सय ८२, खानलाउन नदिएका ६, विवाह दर्ता जन्मदर्ता र नागरिकता नबनाएका चार, अर्की पत्नी ल्याएर हेला गरेको एक र सामान्य घरायसी भगडाका ५३ उजुरी थिए ।
सन् २०२२ मा बाँके जिल्लामा बलात्कारका घटनामा २४, बलात्कार प्रयासका घटनामा एक, बहुविवाहका घटनामा २२, बेचबिखन तथा ओसारपसारका घटनामा दुई, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा चार, दाइजो नल्याएको आरोपमा गरिएको हिंसाका घटनामा एक र बोक्सी’ को आरोपका घटनामा एक जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेको थियो ।

Exit mobile version