- जमुनाह भन्सार नाकाबाट मात्रै दैनिक लाखौं राजस्व चुहावट हुने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । सीमावर्ती बजार रुपैडिहामा दैनिक १२ हजार पाँच सयजना नेपाली किनमेलका लागि जाने र उनीहरुले ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । योसँगै अन्य चोरी पैठारी र क्यारिङबाट समेत दैनिक लाखौं रुपैयाँ बराबरको राजस्व चुहावट भएको बताइएको छ ।
- कोहलपुरमा अध्ययनरत तीनजना किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ । कोहलपुर नगरपालिका-१ को कृष्ण माध्यमिक विद्यालय कौशिल्यानगरका दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नम्बर १२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो ।
- पछिल्लो समय घरेलु हिंसामा पुरुषहरु पनि पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । बाँकेमा सन् २०२३ मा घरेलु हिंसापीडित भएको भन्दै एक सय ५९ पुरुषले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् । पुरुषको तुलनामा भने महिलाहरु बढी घरेलु हिंसामा पर्ने गरेका तथ्यांकमा उल्लेख छ ।
- लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) फरार भएका छन् । ३२ वर्ष पहिला रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेपछि उनी फरार थिए । कैद भुक्तानी नगरेका उनलाई प्रहरीले पक्राउका लागि खोजी सुरु गरेपछि उनी फरार भएका हुन् ।
- र, लागुऔषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका बर्दियाको मैनापोखरस्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस खाएको भन्दै दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।