निर्माण बेथितिको अर्काे उदाहरण परसपुर–गौघाट सडक

कारबाहीमा पर्ला त निर्माण कम्पनी ?

वीरेन्द्र जैसी

परसपुरदेखि गौघाटसम्म १० किलोमिटरको सडक । निर्माण गरिसक्नुपर्ने मिति आउन मात्र ६ महिना बाँकी छ । तर निर्माण कार्य १२ प्रतिशतभन्दा बढी भएको छैन । नागरिकहरुलाई यात्रामा सास्ति छ, सडकबाट उड्ने धुलोले स्वास्थ्यमा असर गरेको छ । यतिमात्रै होइन गाडीको पांग्राले उछिट्टिएर आएका ढुंगा लागेर बालबालिकादेखि ज्येष्ठनागरिकहरु घाइते भएका छन् ।

हामीले स्थलगत रिपोर्टिंगका क्रममा उक्त सडकखण्डमा पर्ने जानकी गाउँपालिका २ की स्थानीय एक महिलाले आफूलाई सडकमा गुडिरहेको टयांकरको पांग्राबाट उछिट्टिएर आएको ढुंगा लागेर ओठ च्यातिएको र दाँतमा चोट लागेको बताइन् । सोही ठाउँका एक बालकको टाउकोमा गाडीको पांग्राबाट उछिट्टिएको ढुंगाले चोट लागेको आलो घाउ थियो ।

बाँके र बर्दियालाई जोड्ने उक्त रणनीति सडकको निर्माणको जिम्मा लिएको कम्पनी हो गणपति कन्काई जेभी । करिब १४ करोड लागत लाग्ने अनुमानसहित २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म निर्माण पूरा गरिसक्नुपर्ने यो सडक बन्न अझै कति समय लाग्ने हो ठेगान छैन ।

घरका छतमा धुलो जमेको छ । यात्रुहरु धुलाम्मे भएर यात्रा गर्न बाध्य छन् । ठेकेदार अनुत्तरदायी र सम्पर्कविहीन छ । नागरिकहरु अधैर्य र आक्रोशित छन् । स्थानीयहरुको भान्सालाईसमेत सडकबाट उडेको धुलोले प्रभावित गरेको छ । स्थानीयहरु धुलोले स्वासप्रश्वाससम्बन्धि रोगले सताउने गरेको बताउँछन् ।

उक्त सडकखण्डमा पर्ने किरण नालामा बनेको पुल गाडिहरु चढ्नै मुस्किल हुने अवस्थाको छ । इरिक्साहरु यात्रुहरु झारेर मात्रै चढ्न सक्छन् । ठेकेदारले पुल अधुरै अलपत्र छाडेको छ ।

सम्झौताको करिब १६ महिनापछि निर्माण सुरु गरेको निर्माण कम्पनीले पेश्की लगेको रकम समेत अन्य योजनामा खर्च गरेको आशंका गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर निरज शाक्य २४ महिनामा उक्त सडकमा २ किलोमिटर सडक बनाउने र केही पुलहरु अधुरा अवस्थामा बनाएकोबाहेक काम नभएको बताउँछन् । अब उक्त ठेकेदारले काम गर्छ भन्नेमा आफुहरु विश्वस्त नरहेको उनको भनाइ छ । त्यहीकारण अब निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रियामा अघि बढेको उनले खुलाए ।

नेपालगन्जदेखि बाँकेका जानकी र खजुरा गाउँपालिकाका भित्री गाउँहरुलाई जोड्दै बर्दियाको बढैयातालसम्म जोड्ने यस सडकलाई रणनीतिक सडकको योजनाअनुसार अघि बढाइएको थियो । एक दशकअघि कालोपत्रे गरिएको सडकमा खाल्डाखुल्डी परेपछि भत्काएर स्तरोन्नति गर्न लागिएको यस सडकलाई अलपत्र पारेर निर्माण व्यवसायीले नागरिकहरुलाई सास्ती दिएका छन् । सडक डिभिजनको नियमनको असफलता यस योजनामा पनि देखिएको छ ।

उक्त सडकखण्डमा यात्रा गर्ने यात्रु, सवारीचालक र स्थानीयहरुले सडक निर्माणमा ढिलाई हुँदा भोग्नुपरेको सास्तीको विस्तृत फेहरिस्त समेटेर दैनिक नेपालगन्जले भिडियो रिपोर्टसमेत तयार गरेको छ । स्क्यान गरेर भिडियो रिपोर्ट हेर्न सकिन्छ ।

Exit mobile version