एक लाख ६४ हजार ४ सय ४४ जनसंख्या र ३४ हजार ५ सय ६५ घरधुरी भएको नेपालगन्ज उपमहानगरपालिकामा शौचालयको सेफ्टी ट्याङ्की भरिँदा त्यसको व्यवस्थापन कहाँ गरिन्छ होला ? यसको सहज जवाफ हो, ‘खुला ठाउँमा ।’
घरजन्य फोहर त बाँकेको हिरमिनियास्थित डम्पिङ्ग साइडमा फाल्ने गरिएपनि दिसाजन्य फोहर भने स्थानीय सरकारबाट मात्रै नभएर निजी क्षेत्रबाट समेत अहिलेसम्म खुला ठाउँ, नदीको बगर, नाला वा जंगलमा नै फाल्ने गरिएको छ । जसका कारण नयाँनयाँ संक्रामक रोगहरु भित्रन सक्ने जोखिम कायम नै छ । नेपालगन्ज उपमहानगरपालिकाले भने अब त्यसको विकल्प तयार गरेको छ ।
घरैपिच्छे बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिएपछि त्यो फोहर कसरी व्यवस्थापन भइरहेको छ ? सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन । अब भने नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २० मनिकापुरमा २ बिघा जग्गा पाँच वर्षका लागि लिजमा लिएर दिसाजन्य लेदो व्यवस्थापनको लागि अस्थायी ठाउँ बनाएर काम सुरु गरेको छ । उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेसँगै खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य हुने नगर प्रमुख प्रशान्त विष्ट बताउँछन् । खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम हुने भएकाले उपमहानगरपालिकाको आफ्नो दायित्व समेत भएकाले दिसा विर्सजन गर्ने ठाउँ निर्माण सुरु गरेको उनको भनाइ छ ।
यसरी सुरक्षित र वैज्ञानिक तवरले दिसाजन्य लेदो व्यवस्थापनको प्लान्ट निर्माण हुनु देशमै एउटा नमुना कार्यको थालनी पनि हो जुन देशका केही स्थानहरूमा मात्र निर्माण भएको छ ।