- बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा विवाह हेर्न गएका तीनजना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राति १० बजेतिर जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ घर भइ हाल बैजनाथ-४ मा बसोबास गर्दै आएका २६ वर्षीय शिव सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का कवीर बुढाथोकी र कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २१ वर्षीय घनश्याम बुढाथोकी घाइते भएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
- सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन् ।
- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको समेत प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
- सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
- लुम्बिनीबाट सञ्चालन भएका सार्वजनिक सवारीले गन्तव्यतर्फ हिँड्नुअघि नै यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ । लुम्बिनीको उद्योग तथा यातायात मन्त्रालयले सोमबार देउखुरीमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण र यातायात सुरक्षाको विषयमा भएको बैठकले यान्त्रिक गडबडीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो ।
- संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।
- र, आज शेयर बजार नौ अङ्कभन्दा धेरैले बढेको छ । दिनभर उतारचढाव भइरहेको शेयर बजार परिसूचक नेप्से नौ दशमलव ३४ अङ्कले बढेर दुई हजार एक दशमलव ६४ विन्दुमा पुगेको छ । आज उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढ्यो भने फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ ।