अराजक वडाध्यक्षकै शैलीमा नेपालगन्जका कर्मचारी

मंगलबार नेपालगन्ज उपमहानगरपालिकामा प्रवेश गरेर वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन शेषले जुन हर्कत गरे त्यसको विरोधात्मक प्रतिक्रिया आएका छन् । वडाध्यक्ष शेष अराजकशैलीमा विभिन्न लाल्छना लगाएका कर्मचारीको भनाइ छ । त्यसकै विरोधस्वरुप यहाँका कर्मचारीले बुधबार नगरको कामकाज पूर्णरुपमा ठप्प पारे । वडाध्यक्षलाई कारबाहीको माग गर्दै सेवाग्राहीको कामै ठप्प हुने गरी के कर्मचारीले ठीक गरे त ?,

एकजना सेवाग्राहीले भने, ‘यो ठीक भने होइन । आफ्नो अधिकारका लागि सेवाग्राहीको अधिकार हनन गर्नु कसरी ठीक हुन सक्छ ।’

जुनसुकै विरोध कार्यक्रमका नाममा जनतालाई मार हुने गरी भएका गतिविधिलाई लोकतान्त्रिक व्यवस्थामा जायज मान्न नसकिने नागरिक समाजका अगुवाहरु बताउँछन् । आफ्ना माग पूरा गर्न सेवाग्राहीको सहज र छिटोछरितो कामकाज हुने कानुनी अधिकारको हनन गर्न कर्मचारी, जनप्रतिनिधि कसैलाई छुट नभएको उनीहरु बताउँछन् । वडाध्यक्षले गलत गरे भन्दैमा कर्मचारीहरुले पनि सेवाग्राहीको कामकाजनै रोकेर गल्ती गर्न नहुने बुधबार यहाँ आएका सेवाग्राहीले बताए । नाम बताए भोलि कर्मचारीले काममा ढिला सुस्ती गरिदिने भयले नाम नबताउन चाहेका एकजना सेवाग्राहीले भने, ‘कर्मचारीले आफ्ना माग पूरा गर्न सेवाग्राहीलाई सास्ती दिएका छन् । हामी निर्दोष सेवाग्राहीलाई काम चाहिन्छ । कसले कसलाई अपमान गर्यो । गाली गर्यो त्यो थाहा हुँदैन ।’

नगरका कर्मचारीहरुले सेवाग्राहीको कामकाज ठप्प पारे, बिना झन्झट कामकाज सुरु हुनु पर्यो भनेर भोलि सेवाग्राही आन्दोलनमा आए यसको जिम्मा कसले लिने भन्दै उनले भने, ‘कर्मचारीलाई अन्याय भएको हो भने सेवाग्राहीलाई प्रभाव नपर्ने गरी कानुनी प्रकियामा जानु पर्यो । यसरी जनताको कामनै रोकेर अन्याय गर्नु भएन ।’

Exit mobile version