सरकार र मिटरब्याजपीडितको वार्ता आज पनि निष्कर्षविहीन भएको छ । गृह मन्त्रालयमा बुधबार भएको वार्तामा सरकारले मिटरब्याजपीडितका समस्यालाई गम्भीरतापूर्वक लिए पनि ठोस निर्णय हुन नसकेको हो ।
वार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए ।
आफूहरूले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेको बताए ।
त्यस्तै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाइ छ । आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताइएको छ । मंगलबार सरकार र मिटरब्याजपीडित बीच भएको वार्ता निष्कर्षमा नपुगेपछि बुधबार पुनः बैठक बसेको हो । उनीहरु न्यायका लागि पैदलै काठमाडौं पुगेका हुन् ।