कानुन अभावमा चुलियो अनलाइन हिंसा

इन्टरनेट माध्यमबाट हुने हिंसाको संख्या बढिरहे पनि कानुन अभावमा नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत आफूहरूमाथि हिंसा गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा दर्ता गराइएका उजुरी समाधानमा चुनौती देखिएको हो ।

कानुन पर्याप्त नहुँदा दर्ता भएका विभिन्न खालका उजुरी फस्र्योटमा समस्या देखिएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए । उनका अनुसार सामाजिक सञ्जालबाट पीडित हुनेमा पछिल्लो समय महिलाभन्दा पुरुषको संख्या बढी छ । महिला र पुरुष फरकफरक तरिकाले पीडित बनेका छन् । फेसबुक, टिकटक, ह्वाट्स एप, एक्स आदि सामाजिक सञ्जालमा बेनामी र गलत नामबाट बनाइने प्रोफाइलले उजुरी फस्र्योटमा समस्या देखिएको उनले बताए ।

साथै पीडक विदेशमा बसेर गरिने हिंसाले पनि मुद्दाको क्षेत्राधिकारमा समस्या थपेको छ । अन्य देशले बनाएका सामाजिक सञ्जाल एप नेपालीले चलाउँदा उत्पन्न समस्याले प्राविधिक जटिलता थप्ने गरिएको भेटिएको हो । प्रहरीलाई साइबर घटनाको कारक र प्रमाण संकलनमा पनि समस्या भएको छ ।

लेखेर तुरुन्तै डिलिट गर्ने खालका प्रमाणले पनि गाह्रो बनाएको बताइएको छ । सीमापार अनुसन्धानका लागि गाह्रो भैरहेको, स्रोतसाधन र विशेषज्ञ अभावले पनि उजुरी फस्र्योटमा समस्या थपेको प्रहरी उपरीक्षक अवस्थी बताउँछन् ।

Exit mobile version