पुरुषोत्तम सापकोटा
नेपाल आयल निगम लिमिटेडले नेपालगन्जलाई पहिलो वर्गमा निर्धारण गरेको छ । भारतबाट बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएसँगै निगमले वर्ग विभाजन गरेर मूल्य समायोजन गर्न आफ्ना डिपोहरु रहेको ठाउँलाई वर्गीकृत गरेको हो ।
पहिलो वर्गमा नेपालगन्जसँगै चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी र धनगढी क्षेत्र पनि समावेश छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर छ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा छ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ र डिजेल तथा मट्टीतेल १५९ रूपैयाँ छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर छ ।
त्यस्तै डिजेल र मट्टीतेलको १६० रूपैयाँ छ । खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९ सय १० रूपैयाँ छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५/१५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।