मित्रलाल सापकोटा
लोकतान्त्रिक मुलुकमा मिडियालाई चौथो खम्बाको रुपमा लिइन्छ । जनतालाई राज्यले गरेका कामहरु, लिएका निर्णयहरु सुसूचित गराउने देखि शासकलाई देशको हितमा काम गर्न जनताले खबरदारी गर्न उपयोग गरिने माध्यमको रुपमा मिडियालाई लिइन्छ । पत्रकारिताको शुरुआत देखि नै यसको उपयोग जनताको आवाज सरकारसँग र सरकारको कामको सुचना जनतासम्म पुर्याउने माध्यमको रुपमा लिइने गरिएको हो । यसैलाई पत्रकारिताको धर्मको रुपमा लिइयो ।
पछिल्लो समय सञ्चार जगतमा आएको क्रान्तिले पत्रकारिताको रुप फेरियो । प्रिन्ट मिडियाबाट संसार इलेक्टिोनिक मिडियातिर गए पनि संसारमा आजपनि प्रिन्ट मिडियाको उत्तिकै महत्व भने रहेको छ । आजपनि दुनियाँका शक्तिशाली देश हुन या शासक कसले के लेख्यो र के बोल्यो भन्ने कुराको आधिकारिताको मापन हुन प्रिन्ट मिडियामा आउनुपर्छ । एक्स एकाण्टमा आएको छोटो सुचनालाई उसको आधिकारिक लाइन त मान्न थालिएको छ तर त्यसलाई पूर्ण सुचना मान्न अझै संसार तयार छैन ।
पत्रपत्रिकाहरुको विस्तार, पाठकहरुको संख्या, पठन संस्कृति, पत्रपत्रिका किन्ने प्रचलन कम भएता पनि यसको शक्ति भने आजपनि कम भने भएको छैन ।
नेपालमा पञ्चायतकालमा सरकारी सुचनाको गजट (राजपत्र बाहेक) को रुपमा रहेको पत्रिका गोरखापत्रलाई आधिकारिक पत्रिका मानिन्थ्यो । यसमा छापिएपछि त्यो नै आधिकारिक सुचना हो भन्ने मान्यता रहेको थियो । अर्कोतिर सरकारको विरोध मात्रै गर्न र नेपालमा नियोजित ऐजेण्डाहरु चलाएर जनतालाई सुसूचित कम भ्रमित बढि गर्न भने भूमिगत रुपमा चलेका पत्रपत्रिकाहरु थिए । पार्टीका कार्यकर्ताले नै गाउँ गाउँमा आफै बोकेर लैजाने र आलोपालो पढेर सुनाउने गरेकाले जनतासम्म सहि भन्दा पनि प्रायोजित सुचना मात्रै पुग्ने गर्दथ्यो । जसका कारण आम जनतामा त्यस्तो खाले पत्रपत्रिकाले जनतामा निकै ठूलो भ्रम सृजना गरेका थियो । त्यहाँ कुनै दोहोरो मूल्याङ्कनको अवस्था रहेको थिएन । पार्टी कार्यकर्ताले बोकेको र खोकेको नै सत्य मान्ने र उनीहरुलाई देवत्वकरण गर्ने काम नेपाली समाजमा शुरु भएको मान्नुपर्छ । त्यस्तो खाले पत्रकारिताले आमजनतामा राज्यप्रतिको भ्रम, देशको अस्मिताको रक्षा प्रतिको भ्रम, विकास समृद्धि र सुशासन प्रतिको भ्रम निकै उत्पन्न गर्दै गयो । जनतालाई राज्यप्रति नकारात्मक बनाउने ऐजेण्डामा प्रायोजित पत्रकारिताले आजपनि नेपाली समाजमा राज्यप्रति जनताको उत्तरदायी बनाउन सकेको छैन ।
२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भयो त्यसपछि बनेको २०४७ सालको संविधानले नेपाली पत्रकारितालाई चौथो अंगको रुपमा स्वीकार गरीसकेपछि त झन अब कुनै भूमिगत भित्ते र पर्चे पत्रकारिता गर्नुपर्ने आवश्यकता नै रहेन । अबको पत्रकारिता कस्तो हुने र पत्रकारिताको स्वरुप कस्तो हुने भन्ने कुराको निकै ठूलो बहस हुनु पर्दथ्यो तर नेपाली राजनीतिको चर्को प्रभावमा र आन्दोलनमा हुर्केको पत्रकारिताले त्यति सजिल्यै धार परिवर्तन गर्ने स्थिति भएन जसको परिणाम स्वरुप पार्टीहरु र तिनका विचारका वरिपरि रहेर नेपाली पत्रकारिताले अर्को लामो समय मात्रै बिताएन आजपनि अपवाद बाहेक यसैको सेरोफेरोमा शक्तिको लागि पत्रकारिता बन्न पुगेको छ भन्दा पनि अतिशोक्ति नहोला ।
समयको माग थियो नेपालमा पत्रकारिताको दृष्टिकोण परिवर्तन गर्ने, आवाजविहीनहरु, विकासमा पछि पारिएकाहरु र खुला परिवेशमा आफ्नो उद्यमशीलताको आफ्नो पौरखका गाथाको पनि नेपाली पत्रकारिताले कवरेज गरोस भन्ने । उनीहरुको समाचार आलेख र सफलताका कथाहरु पस्कने । तर राजनीतिक छुवाछूतको तहसम्म गएको नेपाली समाजमा नेपाली पत्रकारिताले आफुलाई बीचमा उभ्याउन खासै सकेन । समयको मागलाई किनारामा राखी फेरिपनि पार्टीका खबरहरु, नेताका भाषणहरु बिभिन्न बादका ठूलाठूला ब्यानर न्यूजहरु र विदेशी वाद र त्यसलाई बोक्ने नेताका विचारहरुले हाम्र्रो पत्रकारिता रंगिन बनाइरह्यो ।
२०५२ सालबाट शुरुभएको हिंसात्मक गतिविधीले फेरि पक्ष र विपक्षको बहसमा, हत्या र हिंसाका खबरहरु लेख्दैमा नेपाली पत्रकारिताको अर्को लामो कालखण्ड बित्यो । यस बीचमा नेपाली प्रेसले स्वतन्त्रताको अनुभूति गर्न त्यति पाएन । कहिले सरकारी बन्देज त कहिले हिंसारत पक्षको चपेटामा त कहिले पार्टीहरुको कथित ह्वीपमा समय खर्चेर हाम्रो पत्रकारिताले कुण्ठित भै रहनु परेको कुरा जतिसकै लुकाए पनि लुक्दैन । यस्तो बिषम परिस्थिति हुँदाहुँदै पनि नेपाली पत्रकारिता यहाँसम्म आइपुगेको छ यसलाई उपलब्धि नै मान्नु पर्दछ ।
यहाँसम्म आइपुग्दा पत्रकारिताको पुरानो जग कस्तो थियो त्यो महत्वपूर्ण रहेन । तर पत्राकारिताले आज कस्तो धर्म निभाएको छ त्यो भने महत्वपूर्ण हुन थालेको छ । यस बिषयमा आज खासै चर्चा हुँदैन । पत्रकारिताको धर्मसँग आज आम जनतालाई चासो पनि हुन छोडेको हो कि भन्ने पनि लाग्छ । पत्रकारिता गर्नेहरुले पनि “बाँच्नु पर्यो के गर्ने हजुर ? जताबाट विज्ञापन आउँछ, जसको कुरा लेखेर पत्रिका चल्छ, उसैको आवाज लेख्नु बाहेक अर्को उपाय छैन” भन्ने दिन आएका छन् । यसैको परिणाम हो नेपालमा केहि मिडिया घरनाहरु मोटाएका छन् । उनीहरुको शक्ति यतिसम्म पुगेको छ कि देशमा उनीहरुले अर्को सत्ता चलाउँछन् । यसैलाई पत्रकारिताको खास्टो ओढाएर लोकतन्त्रको चौथो खम्बा र जनसत्ता भन्ने गर्छन् ।
नेपालमा आजभोलि समृद्धिको बाटोमा लम्केको र सरकारले त्यस दिशामा काम गरेको भन्ने गरेको निकै भाषणबाजी हुन्छ त्यो भाषणको ब्यानर न्यूज त बन्छ तर त्यो के काम हो, कसरी भै रहेको छ, कुन योजना र बजेटले कहिले पूरा हुने हो, यसका बिषयमा खोजबीन गर्ने र सत्य तथ्यलाई उजागार गर्ने कार्यलाई मिडियाले आफ्नो दायित्व भित्र राख्दैन भने त्यो एक पटक उठेको कुरा मात्रै हुने र त्यसबाट समाजलाई फाइदा पुर्याउने कार्य नहुनपनि सक्छ त्यस प्रति सञ्चार जगतले गहिरो खोजबीन गर्नु पर्छ ।
हाम्रो बानी समस्या देखाउने मात्रै छ । त्यहि समाजको उपज भएर हो हाम्रो पत्रकारिता पनि यसैको वरिपरी रहन्छ । समाचारका दरिला श्रोतहरुको निमार्ण गरी राज्यले उठाएका मुद्दाहरुमा गहिरो खोज गरेर त्यसको औचित्य, समाजलाई हुने फाइदा नोक्सान, भविष्यमा हुन सक्ने जोखिम, देशको राज्यकोषमा पर्ने दिर्घकालिन असर, त्यसको देशको लागि आवश्यकता र औचित्य आदीको बारेमा लेख्नुपर्छ । यसो गरेर जनतामा हिजो पार्टीहरुले गाउँगाउँमा जसरी भूमिगत पत्रकारिता चलाएर तत्कालिन राज्य बिरुद्ध खडा गरेझैं देशको स्वार्थ विपरित कार्यका बिरुद्ध खडा गर्न सक्ने शक्ति राखेको पत्रकारिताले आफ्नो धर्म निभाउनु पर्छ ।
काठमाण्डौंको वरिपरीका डाँडामा जंगल मासेर रिसोर्ट बनाइदै गरेको होस् या पहाडका प्रत्येक डाँडामा बाटो लैजाने बिकास गर्ने नाममा बिनास गरिएको होस, पर्यावरण मासेर औचित्यहीन पूर्वाधार तयार गर्ने काम होस् या औचित्यहीन विकास भनिने कामहरु गरेको होस् त्यस सम्बन्धमा सूचना सम्म पनि दिने दायित्व नसम्झने पत्रकारिताको पनि औचित्य रहँदैन ।
देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता मासेर विकास र समृद्धि आउँछ भन्ने पत्रकारिता हामीले धेरै गरिसकेका छौं । विदेशी वाद र त्यसबाट प्रायोजित ऐजेण्डामा नेपाली पत्रकारिताले आफ्नो लामो समय खर्चेको छ । देश डुबाउन कहिँ कतै बाँकी नराख्ने नेतालाई उचाल्ने र उसैको स्तुति गाउने पत्रकारिताले पनि लामै समय खर्चेको छ । अमेरिका यूरोप आदिका सपना बाँड्न र उतैको नै सबैथोक राम्रो नेपाल र नेपालित्व सबै खराब भन्न पनि नेपाली पत्रकारिताले लामै समय खर्चेको छ । नेपालको भूगोल, इतिहास, यहाँको पारम्परिक ज्ञान र यसले आर्जेको आजको पूँजी मास्नैका लागि पनि नेपाली पत्रकारिताले निकै समय खर्चेको छ । नेपालको शिक्षा पद्धतिमा धमिरो लगाउने आइएनजिओको प्रशंसा र पुरस्कारमा पनि नेपाली पत्रकारिताको भूमिका कम रहेको छैन । आज केहि पूँजिपति घरना र राज्यको शासनमा बसेर साझेदारीमा देशमा ब्रम्हलूट मच्चाउनेहरुको ताबेदारी गर्नमा नेपाली पत्रकारिताले मनग्य समय खर्चेको हो कि भन्ने अनुभूत हुँदैछ । यो नै पत्रकारिताको धर्म हो भने यस्तो धर्मलाई त्याग्नै पर्छ । देशको अस्मिता सकिएर देश नै नरहे पनि मेरो पत्रकारिता त भोलिपनि चलिरहन्छ नि भन्ने सोचले पत्रकारिता हुन्छ भन्ने हो भने त्यो पत्रकारिताको औचित्य नै छैन । यदि पत्रकारिता शासकले देशहित बिरुद्ध गरिने कामको सधैं प्रतिपक्ष बन्न सक्दैन भने त्यसले त आफ्नो धर्म निभाएको छ भन्नै मिल्दैन । पत्रकारिता सीमाविहिन हुनुसक्दैन । उसको धर्म उसको देश र भूमिको रक्षाका लागि, धर्म सँस्कृति भाषा सभ्यताका लागि, मौलिकताको रक्षाका लागि हुनैपर्छ । विचार र मान्यता अनेक हुनसक्छन् तर आफ्नो मौलिकता रक्षाको मान्यता अनेक हुन सक्दैनन् । नेपाली पत्रकारिताले मनन् गरोस् ।