पटकपटक बजार अनुगमन र कारवाही हुँदा पनि बजारमा रहेको बेथिति ज्यूँका त्यूँ जस्तो देखिन्छ । संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगनका क्रममा बजारमा कारवाही गर्नुपर्ने बेथिति भेटिने गरेको छ ।
पछिल्ला समय जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको बजार अनुगमन समितिले तुलनात्मक रूपमा बजार अनुगमनको संख्या बढाएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल नेतृत्वमा भएको बैठकबाट विषयगत कार्यालयहरूलाई समेत बजार अनुगमन अनिवार्य गरिएको थियो ।
संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगमनका क्रममा बेथिति भेटिदा सुधार निर्देशन मात्रै नभई जरिवानाहरू पनि गरिरहेको पाइन्छ । अवैध मालसामान नष्ट गर्नेदेखि व्यवसायमा ताला नै लगाउने काम बजार अनुगमन समितिले गरेको छ । तर, त्यसले पनि बजारमा अनुगमनका क्रममा बेथिति भेटिन छाडेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चालु आर्थिक बर्षको साउनदेखि असोज मसान्तसम्म ३५ र कार्तिकदेखि पुस सम्म मात्रै १ सय ९६ पटक जिल्लाको बजार क्षेत्रको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको संयुक्त बजार अनुगमन समितिले शुक्रबार नेपालगन्ज र जानकी गाउँपालिकाको बजार अनुगमन गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा रहेका १२ वटा पसल व्यवसायीको अनुगमन गरिएको हो ।
आकस्मिक रुमपा गरिएको अनुगमनमा अवैध सुर्तिजन्य पदार्थ रु १८ हजार मुल्यको जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यस्तै, अवैध रूपमा आयात गरिएको तथा म्याद गुज्रिएका चिसो पेय पदार्थ पनि नष्ट गरिएको छ । बजार अनुगमन समितिले १५ हजार २ सय ६० मूल्यको बराबरको पेय पदार्थ नष्ट गरिएको हो ।
त्यस्तै, बजार अनुगमन समितिले ड्राइ फ्रुट्स पनि अनुगमनका क्रममा बरामद गरेको छ । एउटा व्यवसायिक प्रतिष्ठानबाट ३१ प्याकेट ड्राइ फुट्स अनुगमन समितिले नियन्त्रणमा लिएको हो । अनुगमन समितिले ड्राड फ्र्ुट्सका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाउने भएको छ । त्यसका लागि बिक्रेतालाई थप अनुसन्धानका लागि व्यवसायीलाई वाणिज्य कार्यालयलाई उपस्थित हुन आग्रह गरिएको छ ।