सुनाखरीले दुई जनालाई निशुल्क पढाउदै

नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ हरेक वर्ष दुई जनालाई होटेल म्यानेजमेन्ट पढाउन शुरु गरेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ ।

हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार यो वर्षदेखि शुरु गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । उहाँका अनुसार छात्रबृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई रोजगारी समेत दिइने छ ।

सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने प्रालीका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनुभयो ।

सुनाखरी रेष्टुरेन्टको छैठो साधारण सभाको अवसरमा यो वर्षदेखि सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार यो वर्ष नेपालगन्ज १२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा भर्ना गरिएको छ । उनीहरुलाई कक्षा ९ देखि १२ सम्म पढाउने जिम्मा सुनाखरीले लिएको छ ।

सुनाखरीले हरेक वर्ष थप नया दुई जनालाई निःशुल्क पढाउने जनाएको छ । योसँगै रेष्टुरेन्टले हरेक तीन तीन महिनामा बृद्धाश्रममा गएर खाना खुवाउने रणनीति समेत बनाएको छ । रेष्टुरेन्टले खेलकुदमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।

साधारण सभामा पत्रकारिता क्षेत्रमा विशेष योगदान पुरयाएका नेपालगन्जका पत्रकार जे पाण्डे र राकेशकुमार मिश्रलाई सम्मान गरिएको थियो ।

सभामा रेष्टुरेन्टका फ्रन्ट अफिसर खिमलाल शर्मा, कुकमेनद्धय रमेश बस्नेत, जयराम देवकोटा, वेटर महेश धिताल, र स्वीपर कल्पना चन्दलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रङ बहादुर खड्काले बाँकेमा होटल व्यवसाय संचालन गर्नमा निकै चुनौतीपुर्ण अवस्थामा पनि सुनाखरीले कमाएको लोकप्रियताको प्रशंसा गर्दै आगामी थप सेवा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जुन पनि होटल रेष्टुरेन्टले विशेष गरि ग्राहकको चाहना अनुसार छिटो छरितो, गुणस्तरिय सामाग्री उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सुनाखरी रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्र प्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मा लगायत १५ जनाको शेयर रहेको छ । सुनाखरीमा हाल ५३ जना कर्मचारी रहेका छन् ।

Exit mobile version