बाँकेमा व्यवसायिक रूपमा उखु खेती सुरु भएको छ । चिनी र गुँड उत्पादन गर्ने उद्देश्यले खजुरामा व्यवसायिक उखु खेती सुरु गरिएको हो । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ मा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेती सुरु गरेको हो ।
लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले उखु खेतीको शुभारम्भ गर्दै युवा पुस्ता कृषिमा लागेको खुशी व्यक्त गरे । उनले देशको आर्थिक विकासका लागि कृषिको व्यवसायिकरण आवश्यक रहेको उल्लेख छ ।
कृषि मन्त्री भण्डारीले उखु उत्पादनले आयातमा कमी आउने विश्वास व्यक्त गरे । उनले उखु खेतीका लागि मन्त्रालयबाट पनि कार्यक्रम राख्ने योजना रहेको बताए । ‘गर्मीको महिनामा उखुको जुसका लागि उखु भारतबाट ल्याउनु पर्छ’, उनले भने, ‘आफ्नै देशमा उत्पादन भयो भने भारत जाने पैसा आफ्नै देशका लागि हुन्छ ।’
मन्त्री भण्डारीले तरकारीमा पनि आफ्नो प्रदेशलाई आत्मनिर्भर बनाउने चाहना रहेको सुनाए ।
प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ गरिने जानकारी दिए । उनले राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने जानकारी दिए ।
जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताएका छन् । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने कुरैसी बताउँछन् ।