राष्ट्रियसभामा निर्वाचित १९ सांसदले आज शपथ लिने (कुन प्रदेशबाट कुन सांसद नामसहित)

राष्ट्रियसभामा निर्वाचित १९ सांसदले आज शपथ लिने भएका छन् । गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूलाई आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइने राष्ट्रियसभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनीहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने प्रवक्ता गिरीले बताए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो ।

कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन् । मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् । बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भए ।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन् । लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटा भने पूर्ति भइसकेको छैन ।

Exit mobile version