नियमनमा औषधी बिक्रेता

औषधी व्यवसाय मापदण्ड अनुसार सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल औषधी व्यवसायी संघ बाँकेले आफ्ना सदस्यहरूलाई मंगलबार अभिमूखिकरण गरेको छ ।
संघका महासचिव जीवन शर्माले पहिलो चरणमा बिपि चौक देखि गणेशमान चौक भित्र रहेका खुद्रा औषधी पसल सञ्चालन गरेका व्यवसायीहरूलाई क्षमता अभिवृद्धि र सचेतना कार्याशाला संचालन गरेको बताए ।

‘विभिन्न क्षेत्रबाट सुनिएका गुनासोहरूलाई कम गर्ने र आफ्नो व्यवसायको मर्यादामा रही संचालन गर्न, बिल बिनाको औषधी खरिद, बिक्री नगर्न, सरकारले कडाइ गरेका औषधीको रेकर्ड राखी बिक्री वितरण गर्न, तोकिएको मुल्यमा कानुनले तोकेको नियम परिधिभित्र रहि पसल सञ्चालन गर्न व्यवसायीका लागि कार्यशाला आयोजना गरिएको हो’, औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थीले भने ।

औषधी व्यवस्था विभाग नेपालगन्जका शाखा फार्मेसी निरीक्षक दिपेन्द्र कुमार शाहले प्रशिक्षण दिएको कार्यशालामा केन्द्रीय सचिव कृष्ण बहादुर रोकाया र सदस्य सरला बिष्टले शुभकामना मन्तव्य राखेका थिए ।

औषधी मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएको भन्दै संघका अवस्थी नेतृत्वमा आएको तीन महिना नपुग्दै चार वटा सचेतनाका कार्यक्रम गरिसकेका छन् । ‘व्यवसायीले अञ्जानमा तथा लापरवाहीका कारण त्रुटि गर्दा कारबाहीको भागिदार हुनसक्छन्’, संघ अध्यक्ष अवस्थीले भने, ‘त्यसैले व्यवसायी सचेत बनाउन निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेका हौं ।’ उनले व्यवसायी सचेतना अभियानलाई निरन्तरता दिने बताए ।

संघले यसअघि जिल्लाभरका औषधी व्यवसायीका लागि कर शिक्षा तथा औषधी व्यवसायीले पालना गर्नुपर्ने ऐन, नियमका बारेमा सम्बन्धित कार्यालयका अधिकारीहरूलाई निम्त्याएर प्रशिक्षण दिनुका साथै उत्प्रेरणा जगाउन मोटिभेसन कार्यक्रम पनि आयोजना गरेको छ । त्यस्तै, संघले ६६ जना खुद्रा व्यवसायीलाई गुड फार्मेशी प्राक्टिस र ३० होलसेल व्यवसायीलाई गुड स्टोरेज एण्ड डिष्ट्रिब्यूसन प्राक्टिस प्रशिक्षणको आयोजना गरिसकेको छ ।

Exit mobile version