चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले दस वर्षीय आरूष पौडेललाई जेब्राक्रसिङबाट बाटो काट्दै गरेका बेला ठक्कर दिएको हो ।
सोमबार राति पौने ८ बजेतिर भरतपुर-७ माच्छापुच्छ्रे चोक नजिकै सडकको जेब्राक्रसिङमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । ठक्कर दिएपछि बस कुदाएर भागेका माडी नगरपालिका-८ बस्ने चालक विकास सार्कीलाई सीताराम चोक पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनामा बसमा सवार भरतपुर-७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी छन् । अहिले प्रहरीले मुचुल्का गरिरहेको छ । बालकको शव अहिले पनि जेब्राक्रसिङमै छ ।